६६ जिल्लामा एमालेको नयाँ नेतृत्व (सूचीसहित)

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अहिलेसम्म ६६ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनमार्फत एमालेले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी ५ पदाधिकारी छनोट गरेको हो। जेठ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरेको एमालेले बाँकी जिल्लाको अधिवेशन पनि चाँडै गर्ने जनाएको छ।

सम्पन्न जिल्ला अधिवेशनबाट कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा नयाँ नेतृत्वसहितको जिल्ला कमिटी चयन गरेको छ। त्यसैगरी मधेस प्रदेशमा आठमध्ये पाँच जिल्लाको अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुँदा बागमतीका १३ वटै जिल्लाको अधिवेशन गरेर नयाँ नेतृत्व छानेको छ। बागमतीका १३ मध्ये ६ जिल्लाका अध्यक्ष दोहोरिँदा उपत्यकाका तीन वटै जिल्लाका अध्यक्ष दोहोरिएका छन्।

गण्डकीका ११ मध्ये १० जिल्लाको अधिवेशन सकिएको छ। गण्डकीका दुई जिल्लाका अध्यक्ष दोहोरिएका छन् भने पाँच जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको एमालेले जनाएको छ। कर्णालीका १० मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न गरेर पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्दा सुदूरपश्चिमका ९ मध्ये ६ जिल्लाकोमात्र अधिवेशन सम्पन्न भएको छ।

यी हुन् दोहोरिएका जिल्ला अध्यक्ष

सोलुखुम्बुमा डुफकुमार बास्तोला जिल्ला अध्यक्षमा दोहोरिएका छन् भने काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा पुरानै अध्यक्ष दोहोरिएका छन्। ललितपुरबाट पुरुषोत्तम आचार्य, भक्तपुरबाट बचन देउजा र काठमाडौँबाट दीपक निरौला अध्यक्ष बनेका छन्।

धादिङबाट अध्यक्ष बनेका भूमि त्रिपाठी, नुवाकोटबाट अध्यक्ष बनेका बद्री मैनाली र दोलखाबाट अध्यक्ष बनेका नरबहादुर श्रेष्ठ पनि दोहोरिएका छन्। त्यस्तै बागलुङबाट हिरा केसी र स्याङ्जाबाट सूर्यप्रसाद गैरे अध्यक्षमा दोहोरिएका छन्।

अर्घाखाँचीमा पीताम्बर भुसाल, प्युठान विजयराज विष्ट, गुल्मी वालसिंह काउछा र नवलपरासीमा दिपेन्द्र अधिकारी अध्यक्षमा दोहोरिएका छन् । कर्णालीको जुम्ला र रुकुमको अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन्। जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका हुन् भने रुकुम (पश्चिम) को अध्यक्षमा नन्दराम देवकोटा चयन भएका हुन्।

अधिवेशन हुन बाँकी जिल्ला

१.कोशी–इलाम, मोरङ, तेह्रथुम

२. मधेस– सिराहा, सप्तरी, धनुषा

३.गण्डकी–मनाङ

४.कर्णाली–डोल्पा

५.सुदूरपश्चिम–अछाम, बझाङ र डोटी

 

तपाईको प्रतिक्रिया