फुजी हिमाल हेर्न नदिन ६६ फुट लामो बार लगाउँदै

फुकुओका /जापानको यामानाशी प्रिफेक्चरको फुजिकावागुचिको सहरले पर्यटकहरूलाई जापानको सबैभन्दा अग्लो हिमाल फुजी हेर्नबाट रोक्नका लागि विशाल कालो जाली लगाएको छ । सो सहर फुजी हिमालको दृश्यावलोकन गर्न ठाउँको रूपमा चर्चित छ ।

इन्ष्टाग्राम र अन्य सामाजिक सञ्जालहरूमा यो सहर निकै लोकप्रिय छ । आफूहरूले यस्तो कदम चाल्नु परेकोमा खेद लागेको एक स्थानीय अधिकारीले सीएनएनलाई भनेका थिए । मे २१ मा नगर सरकार एउटा परिषद्ले फुजी हिमालको दृश्य छेक्न ६६ फुट लामो कालो जाली उभ्याउने निर्णय गरेको हो ।

फुजिकावागुचि यामानाशीको एउटा सानो सहर हो । हालैका हप्तामा यो सहर विवादमा भेटिएको छ । यो सहर फुजी हिमालको फेदीमा पर्छ । हिमाल चढ्न प्रयोग गरिने बाटोको सुरुआती बिन्दु पनि हो । हिमाल चढ्न र हेर्न आउने पर्यटकको सङ्ख्या थेग्नै नसक्ने भएपछि स्थानीयहरूलाई समस्या हुन थालेको थियो ।

स्थिति यति खराब हुँदै गयो कि पर्यटनसँग सम्बन्धित नरहेको व्यवसायलाई समेत समस्या हुन थाल्यो । जथाभाबी फोहोर फ्याकिदिने, धुम्रपान, पार्किङ लट वा निजी घरको छानामुनि खाने जस्ता पर्यटकको गतिविधिहरूले स्थानीयहरू आजित बने । यस्ता घटनाका कारण बारम्बार प्रहरीलाई नै बोलाउनु पर्ने स्थिति आयो ।

कोरोना भाइरसको महामारीपछि जापानले विदेशी पयर्टकका लागि सीमा खुलाएयता नै त्यहाँका चर्चित पर्यटकीय गन्तव्यहरूमा थेग्नै नसक्ने गरी पयर्टकहरुको आगमन हुन थालेको थियो । सन् २०२४ को मार्च र अप्रिलको बीचमा मात्रै तीस लाख भन्दा धेरै पर्यटक जापान आएका थिए । 

पछिल्लो समय पेरिसदेखि हवाईसम्म सबैतिर थेग्न सक्ने भन्दा धेरै पर्यटक आगमन टाउको दुखाइको विषय बनेको छ । यस्ता समस्या कम गर्न पर्यटकको सङ्ख्यामा सीमा तोक्ने देखि कर असुल्ने र बढाउनेसम्मका काम भइरहेका छन् । 

तपाईको प्रतिक्रिया