अपडेट

सरकार छोड्ने निर्णय नगरेको हुनाले विश्वासको मत दियौँ: उपाध्यक्ष पाण्डे

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले आफूहरूले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै किन विश्वासको मत लिए भन्ने आफूले बुझ्न नसकेको बताए। उनले प्रधानमन्त्रीले विश्वासको मत पाएपनि प्रतिपक्ष दलहरुको नाराबाजीका कारण नमज्जाको वातावरण बनेको बताए।

उनले भने, ‘मलाई व्यक्तिगत रुपमा भन्ने हो भने विश्वासको मत यति छिटो लिइ हाल्नुपर्ने परिस्थिति थिएन प्रधानमन्त्रीलाई। किन लिनुभयो भन्नेकुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन। यद्यपी हामी सत्तापक्षकै हौँ। हामीले विश्वासको मत दियौँ पनि।’ उनले शान्त वातावरणमा विश्वासको मत लिएको भए राम्रो हुने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया