अपडेट

गृहमन्त्री लामिछानेको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो: गगन थापा

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद‍्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गरेका छन्।

उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद‍्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।

उनले भने,‘गृह मन्त्रालय भनेको त ठुलो जिम्मेवारी हो नि। हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ। आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाइल खोलिदिऊ, म तेरो अनुसन्धान गरिदिऊँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु। अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृह मन्त्रीले त धमाधम फाइलको पनि खोल्ने हो। धमाधम अनुसन्धान गर्ने हो। त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो। फैसला गराउने हो, कार्यान्वयन गराउने हो।’

महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे।

तपाईको प्रतिक्रिया