काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन्।
जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएको र सचिवालयले त्यस अनुसार तयारी थालिसकेको जानकारी दिए।
यस विषयमा प्रधानमन्त्री प्रचण्डले विहीबार बेलुका संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो। यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए।
उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए। पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए। तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए।

दियो खबर । ४ जेष्ठ २०८१, शुक्रबार ०८:५१