उपनिर्वाचनमा एमाले विजयी

काठमाडौँ। बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा एमाले विजयी भएको छ।

प्रतिनिधि सभातर्फ इमाल निर्वाचन क्षेत्र नम्बर २ र सुदूरपश्चिम प्रदेशसभा अन्तरगत बझाङ (क) मा सम्पन्न उपनिर्वाचनमा एमालेले जित हासिल गरेको हो।

इलाममा सुहाङ विजयी

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन्।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए। तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो।

नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो।सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए। कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए। रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ।

बझाङमा भण्डारी विजयी

बझाङ प्रदेशसभा (क) मा पनि एमालेकै उम्मेदवार दमन बहादुर भण्डारी ११ हजार ६१३ मतका साथ विजयी भए। उनले कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई पराजित गरेका हुन्।

अभिषेक ११ हजार ३४६ मत ल्याएर पराजित बन्दा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले ३ हजार ८३१ मत पाए। यसबाहेक सो क्षेत्रमा अन्य उम्मेदवारले भने जमानत जोगाउन सकेनन्।

उपनिर्वाचनमा इलाम २ मा माओवादीले एमालेलाई सघाएको थियो भने बझाङमा भने कुनै तालमेल थिएन। उपनिर्वाचनबाट बझाङमा एमालेले कांग्रेसबाट एक सिट खोस्न सफल भएको छ।

तपाईको प्रतिक्रिया