महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौँ। कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक बाटो निर्माणका क्रममा अनियमितता गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव इन्जिनियर हरिप्रसाद पाण्डेय र लेखापाल मलिम रावतविरुद्ध मुद्दा दर्ता गरेको छ।

त्यस्तै महावै वडा नं ३ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीले पनि सडक निर्माणका क्रममा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै मुद्दा दर्ता गरिएको छ। उनीहरूले कालिकोटको सिमखेतदेखि पदमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा सम्झौताअनुसारको मापदण्ड पूरा नगरेको अख्तियारको ठहर छ।

सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर हुनुपर्ने र कडा चट्टान २०४५ घनमिटर काट्नुपर्ने थियो। तर, प्रतिवादी बनाइएका व्यक्तिहरूले मिलेमतोमा ५२० मिटर लम्बाइ, ३.७ मिटर चौडाइ बनाएको र १६९.८० घनमिटरमात्रै चट्टान काटेको अख्तियारले बताएको छ।

यसरी तोकिए बमोजिम काम नगरी ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ। अख्तियारले तत्कालीन उपाध्यक्ष र वडा अध्यक्ष बाहेक सबैबाट ३८ लाख ७६ हजार रुपैयाँ मागदाबी गरेको छ। गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शाही र ३ नं वडा अध्यक्ष सिंहका लागि भने सजायको मात्रै माग गरिएको छ।

तपाईको प्रतिक्रिया