नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं। नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी,  कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन्। होटल सोल्टीको यो कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा मंगलबार काठमाडौं आएका थिए। उनले मंगलबार साँझ नै राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुका साथै शितल निवासमा आयोजित रात्रिभोजमा सहभागी पनि भएका थिए। कतारका राजा पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो।

तपाईको प्रतिक्रिया