टी २० वरीयतातर्फ दीपेन्द्र बने नम्बर वान अलराउन्डर

काठमाडौँ। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन्।

मंगलबार सार्वजनिक भएको वरीयतामा ऐरी विश्वको ११औं स्थानमा छन्। उत्कृष्ट १० मा टेष्ट राष्ट्रका अलराउन्डरहरू परेका छन्। ऐरी आईसीसीको टी २० तर्फ टेष्ट राष्ट्रपछि एसोसिएटका नम्बर वान अलराउन्डर बनेका हुन्। उनी अलराउन्डरतर्फ १४ स्थान माथि उक्लिएका छन्।

ऐरीपछि एसोसिएटमा नामिबियाका ग्रहार्ड इरास्मस १३औं स्थानमा रहेका छन्। १२ औं स्थानमा टेष्ट राष्ट्र अष्ट्रेलियाका मिचेल मार्स छन्।अलराउन्डरतर्फ पहिलो नम्बर बंगलादेशका सकिब अल हसन रहेका छन्। टी २० बलिङतर्फ भने नेपालका कुनै पनि बलर १०० भित्र समेत अटाएका छैनन्।

ब्याटिङमा कप्तान रोहित पौडेल दुई स्थान तल झर्दै ५४औं स्थानमा पुगेका छन्। ब्याटिङतर्फ ऐरी १६ स्थान सुधार गर्दै ६२औं स्थानमा उक्लिएका छन्।

त्यस्तै अर्का ब्याटर आसिफ शेख ३६ स्थान फड्को मार्दै उत्कृष्ट १०० भित्र अटाएका छन्। कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औं स्थानमा परेका छन्।

तपाईको प्रतिक्रिया