दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ। दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएको खेलमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ।

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई ३२ रनले पराजित गरेको छ । मस्कट स्थित अल अमेरातमा कतारका बलर कामरान खानको अन्तिम ओभरको सबै बलमा छक्का प्रहार गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई २ सय १० रन बनायो । १९ बलमा अर्धशतक पुरा गरेका दीपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ छक्का प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन्। यसअघि दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध वेस्ट इन्डिजको बेसटेरेमा र भारतका युवराज सिंहले २००७ को ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले पनि एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रले लगातार ६ छक्का प्रहार गरेको यो दोस्रो पटक हो। चीनको हाङचउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउनेक्रममा दुई ओभर लगाएर लगातार ६ छक्का प्रहार गरेका थिए। एकै ओभरमा दीपेन्द्रले ६ छक्का प्रहार गरेको भने यो पहिलो पटक हो ।

दीपेन्द्रले कुल ३ चौका र ७ छक्का प्रहार गरे। ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकासहित ५२ रन बनाए । कुशल भुर्तेल १२, कप्तान रोहित पौडेल १८, कुशल मल्ल १८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५, सन्दीप जोरा ७ तथा गुलशन झा र विवेक यादव समान ५ रनमा आउट भए । कतारका हिमान्शु राठौड र मुसावर शाहले ३–३ विकेट लिए।

जबाफमा आएको कतारले ९ विकेट गुमाई १ सय ७८ रन बनायो । कप्तान मोहम्मद तान्भिरले ३३ बलमा ६ चौका र ४ छक्कासहित ६३ र मोहम्मद अनाफले २३ रन बनाए । नेपालबाट दीपेन्द्र, ललित राजवंशी र गुलशनले २–२ तथा मल्ल र अविनाश बोहराले १–१ विकेट लिए।नेपालले शुक्रबार पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो।

तपाईको प्रतिक्रिया