फिनिसिङमा चुक्दा नेपाल ‘ए’ दोस्रो खेलमा पनि आयरल्यान्ड ए सँग पराजित

काठमाडौं। बिस्फोटक ब्याटिङ सुरुवातका बाबजुद नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ । मध्यक्रम र तल्लोक्रमका ब्याटर चल्न नसक्दा नेपाल पराजित भएको हो ।

२२५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा १८४ रनमा अल आउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३.१ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए ।

दोस्रो विकेटका लागि देव र विनोदले ४६ रनको साझेदारी गरेका थिए । एक समय नेपाल ६.५ ओभरमा ९३(१ को अवस्थामा थियो । सातौं ओभरको पहिलो बलमा विनोद प्वाइन्टमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो ।

देव खनाल २५ बलमा ७ चौकासहित ४७ रनमा बोल्ड आउट भए । विनोद भण्डारी १३ बलमा १ चौका र ३ छक्कासहित २६ र किरण ठगुन्ना ३ रनमा आउट भए । आरिफ शेख १४, पवन सरार्फ १०, रासिद खान र विपिन खत्री १-१ रनमा आउट भए । कलम सिंह ऐरी ११ रनमा आउट भए।

आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २-२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । आयरल्यान्डको जितमा कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउटको इनिङ खेलेका थिए ।

पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे । रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्ड १९ रन बनाए ।

नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले १/१ विकेट लिए । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अन्तिम टी२० खेल सोमबार हुनेछ । त्यसपछि तीन खेलको ५० ओभरको अभ्यास खेल हुनेछ ।

तपाईको प्रतिक्रिया