काठमाडौँ। शिक्षा मन्त्री सुमना श्रेष्ठले विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेकी छन्। विभिन्न सरोकारवालाहरूसँग छलफल गर्ने क्रममा शनिबार विद्यार्थी सङ्गठनहरूसँग छलफल गरिएको हो।
छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीहरूले भोगिरहेका समस्या र समाधानका उपायबारे शिक्षामन्त्रीले सुझाव मागेकी थिइन्। समग्र शिक्षा प्रणालीको रूपान्तरण र विश्वविद्यालयमा विद्यार्थीको शैक्षिक जीवन सुधार गर्नका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा,अनेरास्ववियुका अध्यक्ष समिक बडाल,अखिल क्रान्तिकारीका इन्द्र भुसाल र पवन कार्की, अनेरास्ववियूका नरेश न्यौपाने, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका हिमांशु, लोकतान्त्रिक विद्यार्थी सङ्गठनका समर साह, राप्रविसंका मदन शाही लगायत सहभागी थिए।
छलफलमा विद्यार्थी सङ्गठनहरूले शिक्षामन्त्रीलाई विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था परिमार्जन गर्न, राजनीतिक भागबन्डा बन्द गर्न, विश्वविद्यालयहरूमा शैक्षिक क्यालेन्डर लागू गर्न, निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्न, निजी विद्यालयहरूमा छात्रवृत्ति र शुल्क अनुगमन गरी समान शिक्षा लागु गर्न सुझाव दिएका थिए।
दियो खबर । १७ चैत्र २०८०, शनिबार २०:५३