गाजामा तुरुन्त युद्धविराम प्रस्ताव राष्ट्रसंघको सुरक्षा परिषदबाट पास

काठमाडौं। गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ।

लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ। चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो। मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए। चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ। यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन्।

गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ। यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलका प्रतिनिधिले रद्ध गरे अमेरिका भ्रमण

गाजामा तुरुन्त युद्धविराम लागु गर्ने प्रस्ताव सुरक्षा परिषदबाट पास भएपछि असन्तुष्ट इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ। अमेरिकाले भिटो प्रयोग गरी युद्धविरामको प्रस्ताव रोकिदियोस् भन्ने इजरायलको चाहना थियो। तर, त्यसो नभएपछि इजरायल असन्तुष्ट छ।

इजरायलका प्रधानमन्त्री कार्यालयका अनुसार सुरक्षा परिषदमा अमेरिकाको भूमिका परिवर्तन भएपछि प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गर्ने निर्णय गरेका हुन्।

उनले पहिले नै अमेरिकाको भूमिकामा परिवर्तन भए यो भ्रमण रद्ध हुने बताएका थिए। यद्यपि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले सुरक्षा परिषदमा मतदानमा भाग नलिँदैमा अमेरिकाको नीतिमा परिवर्तन भएको भनेर भन्न नमिल्ने बताएका छन्। यस विषयमा अमेरिकाले इजरायलसँग छलफल गर्ने पनि उनले बताएका छन्।

एजेन्सी

तपाईको प्रतिक्रिया