काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को पहिलो खेलमा चेन्नाइ सुपर किङ्ग्स (सीएसके) विजयी भएको छ।
चेन्नाइले आफ्नै मैदानमा भएको खेलमा रोयल च्यालेञ्जर बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुआत गरेको हो ।
आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेट गुमाउँदै भेटाएको हो। चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए। शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक/एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए। रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए। अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए। उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे ।
चेन्नाइका लागि मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिएका थिए । आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ : ४५ मा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मल्लानपुरमा हुनेछ भने दोस्रो खेल साँझ कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच हुनेछ ।
दियो खबर । १० चैत्र २०८०, शनिबार ०९:२३