अपडेट

दाइजोको निहुँमा छोरीको हत्या गरेको भन्दै माइतीपक्षले लगायो घरमा आगो

काठमाडौँ। भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा नवविवाहित महिलाको मृत्युपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सोमबार प्रयागराजको मुट्ठीगञ्ज क्षेत्रमा नवविवाहित आंशिका केसरवानीको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो । धुमनगञ्जको झलवा निवासी आंशिकाको विवाह मुट्ठीगञ्जका व्यापारी अंशुसँग भएको थियो ।

आंशिकाको मृत्युको खबर सुनेपछि उनको घरमा पुगेका माइती पक्षले घरमै आगो लगाइदिएको हो । आगजनीमा आंशिकाका सासूससुराको मृत्यु भएको छ ।

दाइजोको निहुँमा आंशिकालाई यातना दिइएको माइती पक्षको आरोप छ । आगजनी गर्नुअघि दुई पक्षबिच विवाद र झडपसमेत भएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

प्रयागराजका डीसीपी दीपक भूकरका अनुसार प्रहरीलाई सोमबार राति ११ बजे आंशिकाले आत्महत्या गरेको सूचना आएको थियो । प्रहरी घटनास्थलमा पुग्दा दुई पक्षबिच विवाद भइरहेको बताइन्छ । तर यस बिचमै माइती पक्षले घरको ढोका बाहिरबाट बन्द गरेर आगो लगाइदिएको थियो । आगो नियन्त्रणमा लिइसकेपछि भित्र हेर्दा दुई जनाको शव फेला परेको प्रहरीको भनाइ छ । मृतकहरु आंशिकाकै सासूससुरा रहेको प्रहरीले जनाएको छ । दुवैको शव परीक्षणका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

-एजेन्सी

तपाईको प्रतिक्रिया