नर्स हत्या प्रकरण: साथीको मोबाइलमा हत्याको म्यासेज

विराटनगर। विराटनगर महानगरपालिका-४ मा मृत भेटिएकी २३ वर्षीय किशोरीको हत्या प्रकरणमा उनकै प्रेमी जोडिएका छन्।

यद्धपि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन। घटना सार्वजनिक भएपछि प्रहरीले किशोरीका प्रेमीलाई खोजी रहेको छ, अमिन धानुक नाम गरेका उनका प्रेमी फरार छन्। धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो ।

हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन्। मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दासको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिन्छ । ‘घटनाको प्रकृति हेर्दा हिजोअस्ति नै हत्या भएको जस्तो देखिन्छ,’ उनले भने,‘ हामी अनुसन्धान गर्दैछौं, सबै विषय खुलिसकेको छैन ।’ दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

हत्यापछि साथीलाई म्यासेज

प्रहरीकाअनुसार बिहीबार दिनभर दास बस्ने कोठामा बाहिरबाट चाबी लागेको थियो । तर, शुक्रबार बिहान सोही घरमा बस्ने मृतक दासको ९शंकास्पद व्यक्तिको पनि० साथीको ह्वाटसपमा घटनास्थलको फोटो पुग्यो। अमिनको नम्बरबाट साथीलाई आएको म्यासेजमा हत्या गरेको छु भनी लेखिएको छ । म्यासेज आएपछि साथीले घरबेटीलाई जानकारी गराइन् ।

शुक्रबार दिउँसो करिब १२ बजे घरबेटीले चाबी खोलेर हेर्दा विभत्स अवस्थामा शव देखे, त्यसपछि प्रहरीलाई खबर गरे । प्रहरी स्रोतका अनुसार हत्या गरेका व्यक्तिले दासको साथीलाई घटनास्थलको फोटो पनि पठाएका थिए । ह्वाटसपबाट अमिनले नै पठाएको हो कि अरु कसैले उनको नम्बर प्रयोग गरेर पठाए भन्ने अनुसन्धानका क्रममा छ । तर, प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी नै हुन भन्ने निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरी स्रोतका अनुसार अमिन पनि स्वास्थ्यकर्मी हुन् । उनी सिराहामा नै काम गर्छन् ।

‘विभिन्न कुराहरु आएका छन्, हामी अनुसन्धान गर्दैछौं, निष्कर्षमा पुगिएको छैन,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘शंकास्पद व्यक्तिमाथि निगरानी बढाएका छौं ।’ प्रहरी स्रोतका अनुसार प्रेममा खटपट हुँदा दासको हत्या भएको देखिन्छ । ‘अहिलेसम्म कोही पक्राउ परेका छैनन्,’ कार्कीले भने,‘ विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’

तपाईको प्रतिक्रिया