काठमाडौँ। सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ।
क्यानले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्ग ज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ।’ सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ।
नेपाल विश्वकपमा छनोट भए लगत्तै प्रधानमन्त्री प्रचण्डले टिमको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको र अहिले त्यो प्रतिबद्धता परेको बताउँदै राखेपका सदस्य सचिव घिसिङ्गले अब खेलाडीले उच्च मनोबलका साथ तयारी गरेर विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको बताएका छन्।
दियो खबर । २३ फाल्गुन २०८०, बुधबार १९:३५