साफ यू-१६ फुटबलमा नेपालले भुटानलाई हरायो

काठमाडौँ। साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ।

नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो। नेपालका लागि १४ औं मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन्। उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको हो।

पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन्। त्यस्तै खेलको ३१ औं मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट सिधै गोल गरेकी हुन्। डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको हो।

खेलको ३८औं मिनेटमा भुटानले पेनाल्टीमार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो। जसमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन्।

दोस्रो हाफमा भने दुवै टिमले मौका बनाए पनि गोल भने हुन सकेन। नेपालले पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो। भुटान भने पहिलो खेलमा भारतसँग ७-० ले पराजित भएको थियो। नेपालले अब बिहीबार भारतसँग खेल्ने छ। यस प्रतियोगितको फाइनल शीर्ष २ टिमबीच फागुन २७ गते आइतबार हुनेछ।

तपाईको प्रतिक्रिया