एमालेले ऐन महर र सिराज अहमद फारुकीलाई गर्‍यो बर्खास्त

काठमाडौं। नेकपा एमालेले केन्द्रीय सदस्यहरु ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो। तर, यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ। ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको बक्तव्यमा उल्लेख छ।

तर एक नेताका अनुसार राजीनामा स्वीकृत गरेको नभइ उनीहरुलाई बर्खास्त गरिएको हो। ‘यौन विचलनमा परेको अडियो सार्वजनिक भएकाले ऐन महरलाई र आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई बर्खास्त गरिएको हो’, ती नेताले भने।

बर्खास्त भनेर निर्णय सार्वजनिक गर्दा त्यसको कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको उनी बताउँछन्। ‘पार्टीको अनुशासनमा नबस्ने अरु नेताहरुबारे पनि छलफल चलिरहेको छ। अहिले दुई जनालाई बर्खास्त गरिएको हो’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया