नेपालले आज क्वार्टरफाइनलमा कुवेतको सामना गर्दै

काठमाडौँ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको चारवटै क्वार्टरफाइनल खेल बुधबार खेलिँदैछ।

प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

अन्य क्वार्टरफाइनलमा हङ्कङले थाइल्यान्डको, इन्डोनेसियाले संयुक्त अरब इमिरेट्स (यूएई) को र आयोजक मलेसियाले जापानको सामना गर्नेछन् । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो ।

नेपालकै समूहबाट उपविजेता बन्दै हङ्कङ क्वार्टरफाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो ।

यसैगरी नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्समाथि दुई सय १४ रनको कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित हो ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक योगफल हो । यसका अतिरिक्त नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । रुविनाले अविजित एक सय १८ रन बनाएकी थिइन् । उनी अन्तर्राष्ट्रिय टी–२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

यसका अतिरिक्त रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटको एउटै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेकी छन् । रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी हुन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।

माल्दिभ्सविरुद्धको खेलमा रुविनाको स्ट्राइक रेट दुई सय थियो । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा कुनै पनि नेपाली ब्याटरको यो सर्वोत्कृष्ट स्ट्राइक रेट पनि हो । यसका अतिरिक्त रुविना अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा सबैभन्दा बढी छक्का र चौका प्रहार गर्ने नेपाली खेलाडी पनि बनेकी छन् ।

माल्दिभ्सविरुद्ध केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेलेका थिए । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरेका थिए । महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।

माल्दिभ्सविरुद्ध पूजा महतोले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरेकी थिइन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक हो ।

क्वार्टरफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी कुवेत भने समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको हो । समूहगत चरणमा कुवेतले तीनमध्ये दुई खेलमा जित हासिल गरेको थियो । कुवेतले सिंगापुरलाई १० विकेट र म्यानमारलाई २७ रनले हराएको थियो ।

समूहगत चरणको खेलमा कुवेतको टोली थाइल्यान्डसँग ९६ रनले पराजित भएको थियो । कुवेतको समूहबाट थाइल्यान्ड तीनवटै खेल जित्दै विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । अन्तिम आठमा बुधबार थाइल्यान्डले हङ्कङको सामना गर्नेछ ।

यसैगरी समूह ‘सी’ बाट मलेसिया विजेता र इन्डोनेसिया उपविजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । मलेसियाले तीनवटै खेलमा जित हात पारेको थियो भने इन्डोनेसिया तीनमध्ये दुई खेलमा विजयी भएको थियो ।

समूह ‘बी’ बाट भने यूएई विजेता र जापान उपविजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । यूएईले समूहगत चरणको तीनवटै खेल जितेको थियो भने जापानले तीनमध्ये दुई खेलमा सफलता हात पारेको थियो ।

जारी प्रतियोगितामा हालसम्म तीन खेलाडीले शतक बनाएका छन् । नेपालकी रुविना क्षेत्री र यूएईकी एसा एसा ओजाका अतिरिक्त हङ्कङकी मारिको हिलले पनि अविजित एक सय रन बनाएकी छन् । प्रतियोगितामा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी भने हङ्कङकी चान का यीङ् केरी हुन् । उनले प्रतियोगितामा तीन पाली खेल्दै कुल एक सय ७७ रन बनाएकी छन् ।

यसैगरी जारी प्रतियोगितामा हालसम्म सर्वाधिक विकेट लिने बलर इन्डोनेसियाकी नी वान सारियानी, थाइल्यान्डकी चानिदा सुथारिरुङ, मलेसियाकी माहिरा इजाती ईस्माइल र चीनकी लिउ मेङ्तिन हुन् । उनीहरूले ६–६ विकेट लिएका छन् ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया