माल्दिभ्समाथि नेपालको कीर्तिमान जित

काठमाडौँ। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार माल्दिभ्समाथि कीर्तिमान जित हासिल गरेको छ।

नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको हो । नेपाल तीनवटै खेल जित्दै समूह ‘डी’ को विजेताका रूपमा प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

नेपालले माल्दिभ्सविरुद्धको खेलमा थुप्रै कीर्तिमान पनि बनाएको छ । नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा कुनै पनि टोलीविरुद्ध हासिल गरेको यो सबैभन्दा ठुलो रनअन्तरको जित हो ।

यसअघि नेपालले सन् २०२१ को नोभेम्बर १६ तारिखमा दोहामा खेलिएको खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो । त्यो खेलमा नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमै केवल २७ रन बनाउँदै अलआउट भएको थियो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको माल्दिभ्सले भने १३.५ ओभरमै अलआउट हुनुअघि १३ रनमात्र बनाउन सक्यो ।

जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो । यसका अतिरिक्त नेपालले अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा बनाएको पनि यो सर्वाधिक रन हो । यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा खेलिएको कतारविरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्धशतक बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएकी रुविनाले अविजित एक सय १८ रन बनाइन् । उनी अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेकी छन् ।

रुविना अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटको एउटै खेलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १८ तारिखमा दोहामा खेलिएको कतारविरुद्धको खेलमा नेपालकी सीता रानामगरले अविजित ८२ रन बनाएकी थिइन् ।

रुविना जारी प्रतियोगिताको एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेकी छन् । यसअघि ओमानविरुद्धको खेलमा यूएईकी एसा ओजाले अविजित एक सय १४ रन बनाएकी थिइन् ।

प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएकी अनुभवी ब्याटर रुविनाले केवल ५९ बलको सामना गरी पाँच छक्का र १० चौका पनि हिर्काइन् । खेलमा उनको स्ट्राइक रेट दुई सय रह्यो । अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा कुनै पनि नेपाली ब्याटरको यो सर्वोत्कृष्ट स्ट्राइक रेट पनि हो ।

यसका अतिरिक्त रुबिना अन्तर्राष्ट्रिय महिला टी-२० क्रिकेटमा सबैभन्दा बढी छक्का र चौका प्रहार गर्ने नेपाली खेलाडी पनि बनेकी छन् । उनले ११ छक्का र ७१ वटा चौका प्रहार गरेकी छन् । यो सूचिमा दोस्रो नम्बरमा रहेकी सीता रानामगरले सात छक्का र ६७ चौका हिर्काएकी छन् ।

माल्दिभ्सविरुद्ध केवल ६१ रनमा चौथो विकेट गुमाएको नेपालका लागि यी दुई ब्याटरले महत्त्वपूर्ण पाली खेले । रुविना र पूजाले अविजित एक सय ६६ रनको साझेदारी गरे । महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालको यो सबैभन्दा ठुलो साझेदारी पनि हो ।

यसअघि सन् २०२१ को नोभेम्बर १६ तारिखमा दोहामा खेलिएको कतारविरुद्धको खेलमा नेपालका इन्दु बर्मा र सीता रानामगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए ।

पाँचौँ विकेटका लागि सबैभन्दा ठुलो साझेदारी भने सन् २०२२ को जुन १८ तारिखमा क्वालालम्पुरमा खेलिएको कुवेतविरुद्धको खेलमा इन्दु बर्मा र रुविना क्षेत्रीले गरेका थिए । त्यो खेलमा उनीहरूबिच पाँचौँ विकेटका लागि अविजित ६० रनको साझेदारी भएको थियो ।

मंगलबारको खेलमा छैटौँ नम्बरमा क्रिज समाल्न आएकी पूजाले पनि टोलीका लागि अविजित ५९ रनको योगदान गरिन् । पूजाले केवल ३६ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काइन् । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा पूजाको यो पहिलो अर्धशतक हो ।

त्यसअघि ओपनर ब्याटर सीता रानामगरले १५ र कविता कुँवरले ११ रन बनाएकी थिइन् । कप्तान इन्दु बर्मा भने शून्य रनमै पेभेलियन फर्किइन् । डली भट्टले पनि टोलीको खातामा ६ रन थपिन् । नेपालले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो । माल्दिभ्सकी बलर सम्मा अलीले तीन विकेट लिइन् । नबा नसिमले पनि एक विकेट हात पारिन् ।

जवाफी ब्याटिङमा ओर्लिएको माल्दिभ्सलाई सस्तोमा समेट्ने क्रममा नेपाली बलर अस्मिना कर्माचार्यले चार विकेट लिइन् । पूजा महतो र रुविना क्षेत्रीले पनि तीन-तीन विकेट हात पारेका थिए ।

समूह ‘डी’ मा रहेको नेपालले तीनवटै खेलमा जित हात पार्‍यो । नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई पनि आठ विकेटले नै पराजित गरेको थियो ।

नेपालको समूहबाट हङ्कङ पनि समूह उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो । हङ्कङले मंगलबार नै खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा भुटानलाई ७२ रनले हरायो । दुई जित हात पारेको हङ्कङको चार अंक छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।

फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् ।

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई-दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया