काठमाडौं। नेपालले तेस्रो ओडीआई खेलमा क्यानडालाई ९ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा सोमबार नेपालले जितको लागि पछ्याएको २३३ रनको लक्ष्य ४४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा अनिलकुमार साह १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा नट आउट रहे । भीम सार्की १२९ बलमा ११ चौका र १ छक्कासहित १०१ रनमा नट आउट रहे । दुबैले पहिलो पटक शतक हानेका हुन् । नेपालको सहज जितमा भने तीन दुर्लभ कीर्तिमान बनेका छन् ।
पहिलो पटक एकै खेलमा दुई शतक
नेपालबाट सिनियर क्रिकेटमा कुनै पनि खेलमा पहिलो पटक एकै इनिङमा दुई शतक बनेका हुन् । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालबाट कुनैपनि खेलमा एकै इनिङमा दुई शतक बनेको थिएन ।
यू-१९ क्रिकेटमा भने आईसीसी यू-१९ विश्वकप २०२३ मा युएईको आजमानमा कुवेतविरुद्ध देव खनाल १२५ र अर्जुन कुमालले १०८ रन बनाएका थिए ।
ओडीआईमा उच्च साझेदारी
नेपाललाई सहज जित दिलाउन अनिल र भीमले १८९ रनको अविजित साझेदारी गरे । ओडीआईमा नेपालबाट कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि २०२३ जुनमा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । त्यो नै उच्च साझेदारी थियो ।
तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप
नेपालले तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप गरेको हो । यसअघि नेपालले तीन खेलको सिरिज दुबईमा २०१९ र २०२२ मा टियुमा युएईविरुद्ध समान २-१ले जितेको थियो । दुई खेलको सिरिज भने नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओमानमा क्लिनस्विप गरेको थियो ।
दियो खबर । २९ माघ २०८०, सोमबार २०:०६