काठमाडौँ। अहिले मोबाइलमा अनेकौँ एडभान्स फिचर पाइन्छ।
मोबाइलको आवश्यकता यति बढेको छ कि मानिसहरू अलिकति ब्याट्री घटेको देख्ने बित्तिकै बारम्बार चार्जमा राखिहाल्छन् । तर के यस्तो गर्नु ठिक हो त? मोबाइललाई कति बेला चार्जमा राख्नु पर्छ? ब्याट्री कति प्रतिशत भयो भने चार्जमा राख्नु पर्छ भन्ने कुरा निकै कम मान्छेलाई मात्रा थाहा छ ।
फोनको ब्याट्रीको स्वास्थ्यलाई बिग्रन नदिने हो भने ब्याट्री २० प्रतिशत हुँदा चार्जमा राखेर ८० वा ९० प्रतिशत चार्ज भएपछि निकाल्नु पर्छ । फास्ट चार्जिङ प्रयोग गर्नेहरूका लागि त यो झनै महत्त्वपूर्ण छ । किनकि ब्याट्री रातो भएर सकिनै लागेपछि चार्ज गर्दा मोबाइल तात्छ अनि ८० प्रतिशत भन्दा माथि फास्ट चार्जिङ धेरै एफिशियन्ट हुन्न । तर ब्याट्री ओभरचार्ज हुँदा केही जोखिम भने हुन्न ।
हिजोआजका फोनमा ब्याट्रीको हेल्थका लागि भनेर यस्ता कयौँ इन–बिल्ट फिचरहरु राखिएको हुन्छ जसले शून्य प्रतिशतमा चार्ज झर्नु अघि नै मोबाइललाई बन्द गरिदिन्छ। तपाईँ फोनलाई लामो समयसम्म प्रयोग नगर्ने योजना गर्दै हुनुहुन्छ भने आधा मात्रै चार्ज गर्नु उत्तम विकल्प हो। लामो समय नचलाईकन राखिने फोनहरूलाई ६-६ महिनामा खाली गर्न र ब्याट्रीलाई बिग्रन नदिन ५० प्रतिशतसम्म मात्रै चार्ज गर्न एप्पलले सुझाव दिएको छ।
क्षतिबाट बच्नका लागि कम्पनीले मोबाइल फोनको ब्याट्रीलाई चिसो, सुख्खा ठाउँमा राख्न अनुरोध गरेको छ। फोन र ब्याट्री दुबैका लागि सस्ता चार्जरहरू असुरक्षित छन्। यस्ता चार्जरमा कम्पोनेन्टहरू राम्ररी इन्सुलेटेड गरिएका हुँदैनन्। जसका कारण बाथरुम जस्ता आर्द्रता धेरै भएका ठाउँमा चार्जमा राख्दा फोन सर्ट सर्किट र आगो लाग्ने जोखिम धेरै नै हुन्छ। कमसल वा नक्कली चार्जर प्रयोग नगर्न र फोन किन्दा साथमा आउने चार्जर मात्रै प्रयोग गर्नु पर्छ भनेर सुझाव दिइने कारण यो पनि हो।
दियो खबर । २८ माघ २०८०, आईतवार १९:०२