काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताउनु भएको छ।
पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रबारे बहसको कुनै औचित्य नभएको दाबी गर्नु भएको हो।
उहाँले जनताबाट अनुमोदित नेतृत्व नै लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गर्नुभयो। राजतन्त्रको विषय अहिले असान्दर्भिक भएको बताउँदै उहाँले राजतन्त्र चाहिन्छ भन्नेहरूलाई चुनावमा सहभागी हुन आग्रह गर्नुभयो।
विद्यार्थीलाई उत्पादनसँग सम्बन्धित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजको आवश्यकतालाई ध्यानमा राखी दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रचलित शिक्षा प्रणालीले स्वरोजगार सिर्जना गर्न नसकेकाले समाजमा चुनौती थपेको भन्दै समयसापेक्ष शिक्षा नीति परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले एकीकृत समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अगाडि बढेको भन्दै देशलाई समृद्ध बनाएर जनतालाई सुखी बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताउनु भयो। -रासस

दियो खबर । २१ माघ २०८०, आईतवार ०७:४१