काठमाडौँ। नेपालले रुसलाई तीन पटक कूटनीतिक नोट पठाउँदा पनि नेपालीको शव पठाउन इन्कार गरेको छ।
रुसी सेनामा भर्ती भई १० जना नेपालीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयमार्फत हालसम्म तीनपटक कूटनीतिक नोट पठाइसकेको छ। ‘हामीले पटक पटक नेपालीको शव पठाउन अनुरोध गयौं तर रुसले हाम्रो कुरालाई गम्भीर रूपमा लिएनु, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तीनपटक त कूटनीतिक नोट नै पठाइसक्यौं तर कुनै जवाफ आएको छैन।’ एकपटक मस्कोस्थित नेपाली दूतावासमार्फत रुसी विदेश मन्त्रालय र दुईपटक काठमाडौंमा रहेको रुसी दूतावासमार्फत नेपालले कूटनीतिक असन्तुष्टि जनाएको हो।
यता पीडित परिवारले सरकारसँग आफ्नो सन्तानको सद्गत गर्न शव पठाउन नसके अस्तु भए पनि चाहियो भनिरहेका छन्। दुईपटकसम्म रुसलाई पत्राचार गर्दा पनि जवाफ नपठाएपछि पछिल्लो समय अस्तु पठाइदेऊ भनेका छौं तर जवाफ अझै आएको छैन। रुसले नेपालीहरू रुसी सेनामा भर्ना गर्दा मृत्यु भएमा वा मारिएमा शवको अन्त्येष्टि स्थानीय कानुनअनुसार गरिनेछ भनेर हस्ताक्षर गराउने गर्छ। सेनामा भर्ती भएपछि पालना गर्नुपर्ने नियम र मृत्यु भएमा रुसको परम्पराअनुसार सद्गत गर्ने कुरा उल्लेख भएकोहुन्छ। सोही सहमतिपत्रकै आधारमा रुसले नेपालीको शव नेपाल पठाउन इन्कार गरेको हो।
गत असारदेखि रुसमा मारिएका नेपालीको शव नेपालले ल्याउन सकेको छैन। रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १० जना नेपालीको रुस(युक्रेन युद्धमा मृत्यु भइसकेको छ। गत १७ पुसमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो समय तीन जनाको मृत्यु भएको थियो। यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।

दियो खबर । २ माघ २०८०, मंगलवार ०७:५०