अपडेट

नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताएका छन्।

चिनियाँ नयाँ वर्षको काठमाडौंमा उद्घाटन गर्दै उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ रहेको बताए।

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘यससम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ। आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन।’

आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले थपे, ‘ताइवान चीनकै अभिन्न अङ्ग हो। ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ। मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं।’

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका नभइ यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए। प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदाहरणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया