काठमाडौँ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुस १३ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्यो ।
जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएको फैसला सुनाउँदा सन्दीप भने वीरगन्जमा नेपाल प्रो क्लब च्याम्पियनसिप खेल्दै थिए ।
उक्त प्रतियोगितामा सन्दीप पर्साको कप्तान थिए । उनको टोली फाइनलमा पुगिसकेको थियो । उनले सेमिफाइनलसम्मका खेल खेलेका थिए । तर, फाइनलअघि नै अदालतको फैसला आएकाले उनले फाइनल खेल भने खेलेनन् ।
त्यतिबेलासम्म अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरे पनि सजाय भने सुनाइसकेको थिएन । तर, अदालतले सजाय नसुनाए पनि सन्दीप आफै प्रतियोगिताबाट बाहिरिएका थिए । किनभने उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइसकेका थिए ।
त्यसपछि पुस २५ गते अदालतले सन्दीपलाई आठ वर्षको कैद सजाय सुनायो । कैद सजाय सुनाएलगत्तै सन्दीप आफैले आफू राष्ट्रिय टोलीबाट टाढिएको जानकारी दिए । उनले नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) लाई पनि यस विषयमा जानकारी गराए ।
उनले आफू जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालतमा जाने जानकारी पनि क्यानलाई दिए । उनले माथिल्लो अदालतबाट सफाइ पाए आफू पुनः सक्रिय खेलजीवनमा फर्कने जानकारी पनि क्यानलाई गराएका थिए ।
जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भए लगत्तै सन्दीप कुनै पनि आधिकारिक प्रतियोगिता खेल्न अयोग्य घोषित भइसकेका थिए । यो कुरा सन्दीप आफैले बुझेर उनले वीरगन्जमा भएको नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनल पनि खेलेनन् ।
त्यसपछि उनी आफैले क्यानलाई राष्ट्रिय टोलीबाट बाहिरिएको जानकारी पनि गराए । त्यसपछि मात्र बिहीबार क्यानले विज्ञप्ति जारी गर्दै सन्दीपलाई घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताबाट निलम्बन गर्ने निर्णय गर्यो । जबकि पुस १३ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर भए लगत्तै उनी घरेलु र राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भइसकेका थिए ।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौदजारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारको क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँछौँ ।’
दियो खबर । २६ पुष २०८०, बिहीबार १९:००