‘सपनाको रक्षा गरिएसम्म वामपन्थ जिउँदो रहनेछ’

खगेन्द्र संग्रौला

घनश्याम (भुसाल) जी यति धेरै दिक्क हुनुहुन्छ, त्यति धेरै तपाईंलाई ठेसै लाग्ने कुरा म गर्दिनँ, रिल्याक्स गर्नुभए हुन्छ । मलाई हिजोदेखि आजसम्म बोलिएका कुराहरूको सार–संक्षेप प्रस्तुत गर्न भनिएको थियो । वास्तवमा म त्यो कामको निम्ति योग्य पात्र होइन । मेरा योग्यता जम्मा दुइटा छन्— मोहनशमशेरदेखि ज्ञानेन्द्रसम्म गन्दा एकबारको जुनीमा मैले सातवटा राजा फटाएँ र मेरो कपाल फुलेको छ । यही दुइटा योग्यताका आधारमा समग्र कार्यक्रमको मजबुन खिच्न मलाई भनिएको छ ।

वामपन्थी कम्युनिस्टहरू अलिअलि बढाइचढाइँ गर्छन्, अलिअलि धाकधक्कु लगाउँछन् । झलक सुवेदी कमरेडले मलाई निम्ता गर्दाखेरी त्यो दुइटै कुरा मेरो कानमा गुन्जियो । उहाँले भन्नुभयो— पहिलो दिन घटीमा तीन सय, बढीमा साढे तीन सय मान्छे आउँछन् । दोस्रो दिन पनि घटीमा डेढ सय, होइन भने केही बढी मानिस आउँछन् । मैले टाउको त गनिनँ, यसमा उहाँको बढाइचढाइँ र धाकधक्कुलाई धेरै न्यूनीकरण गरेर बुझेको छु । यो आयोजनाका लागि धेरै धन्यवाद ।

मैले हिजो र आज यहाँ सुन्दा, नेपालको वामपन्थका बारेमा दुइटा फरक समयमा दुइटा फरक पुस्ताको दुइटा फरक भाषा सुनेँ । यो डायसमा बोल्ने पण्डितहरू, पार्टीका पण्डित, गैरपार्टीका पण्डितका भाषा त म बुझ्छु । म त्यही स्कुलमा हुर्केको हुनाले, कम्युनिस्ट आन्दोलनको किनारै किनार जिन्दगीभरि हिँडेको हुनाले, नेताको भाषा त म बुझ्छु । तर आज हाउस खोलेपछि नयाँ पुस्ताले त्यताबाट जे जे कुरा भन्नुभो, धेरै कुरा मेरा लागि नयाँ थियो । यताको बुझाइ र उताको बुझाइको बिचमा धेरै ठुलो खाडल पाएँ मैले । यो दुइटालाई जोड्नका निम्ति धेरै प्रयत्न गरिनुपर्छ ।

नेपालको वामपन्थलाई बलियो बनाउने भनेको आजको नयाँ पुस्ताको कानसम्म वामपन्थको चेतना पुर्‍याउने हो । तिनको मस्तिष्कमा वामपन्थको चेतना घुसाउने हो । तिनलाई जोगाउने हो, तिनलाई संगठित गर्ने हो, तिनलाई उत्साहित गर्ने हो । नयाँ पुस्ताले धेरै नयाँ कुरा गरेको छ-नूतन आविष्कारहरू, आर्टिफिसियल इन्टेलिजेन्स, विभिन्न कुरा छन् । यी विभिन्न नयाँ आविष्कारहरूको माक्र्सवादसँग के सम्बन्ध छ ? हामीले बुझिरहेको र अभ्यास गरिरहेको माक्र्सवादमा तिनले के के परिवर्तनको निम्ति सन्देश दिन्छन् ? युवा पुस्ताबाट त्यो कुरा आइरहेको छ । त्यसैले खासगरी म युवा पुस्तालाई अभिवादन गर्छु । आयोजकलाई म केमा धन्यवाद दिन्छु भने उहाँहरू अधिकांश त पार्टीकै युवा हुनुहोला, तर पार्टीकै युवा भए पनि नेपाली त हो, वामपन्थी त हो, त्यसले के फरक पर्‍यो ! युवाको व्यापक संख्या यहाँ देख्दाखेरी म ७८ वर्षको बुढो पनि उत्साहित भएको छु । तपाईंको उपस्थितिले, तपाईंको आवेगले, तपाईंको उमङ्ंगले मेरो एक वर्ष उमेर थपियोजस्तो लाग्छ । म तपाईंलाई धन्यवाद दिन्छु ।

म तीनजना पण्डितका तीनवटा सूत्र वचनबाट कुरा सुुरु गर्छु । भाष्कर गौतम, महेश मास्के र घनश्याम भुसाल— तिन्टैको मजबुन के छ भने यहाँ संकट छ । अझ घनश्यामजीको त्यो अभिनयसहितको बडो मेस्कुलिन आवाजमा भन्ने हो भने त तीन महिनाको बीचमा नौ रेक्टर स्केलको भूकम्प जानेवाला छ नेपालमा, त्यस्तो चाहिँ मलाई लाग्दैन । त्यस्तो मलाई किन लाग्दैन भने राजा फर्काउन चाहने राष्ट्रवादीहरू, हिन्दुराष्ट्र बनाउन चाहने उन्मादीहरू र बिचका यी टपर्टुय्याँहरू, चटकेहरू, यिनीहरू मुहानबिनाका भेलहरू हुन् । नेपालमा पार्टी पद्धति बलियो छ, गणतन्त्रको जग बलियो छ । किनभने गणतन्त्र ल्याउनको निम्ति जति लामो समय सङ्घर्ष गरिएको छ, त्यो पृष्ठभूमिमा जति बलिदान भएका छन्, जति आशा र उमङ्गको त्यसमा लगानी भएको छ । गणतन्त्र बलियो छ ।

सङ्घीयता नेपाली समाजको बनोटलाई, त्यसको विविधतालाई सम्बोधन गर्न ल्याइएको हो, त्यो पनि आफैँमा बलियो छ, त्यसको दार्शनिकता धेरै बलियो छ । घनश्यामजी तपाईं डराउनुभएको छ भने डरलाई घटाएर बुझे हुन्छ । तथापि म के भन्छु भनेँ, संकट छ । तीनैजना वक्ताले के भन्नुभएको छ भने, भाष्करजीले भन्नुभो, नेपालको वामपन्थमा विकल्प हराएको अवस्था हो । घनश्यामजीले भन्नुभो, पार्टीमा आन्तरिक रूपमा पनि र राज्यमा पनि अर्थपूर्ण हस्तक्षेप गरिएन । हस्तक्षेप गर्ने शक्तिहरू अत्यन्तै निस्तेज भए । हस्तक्षेप कमजोर भएको परिणाम हो यो ।

महेशजीले सपनाहरूको मृत्यु भएको बेला हो भन्नुभो । यद्यपि महेशजीले चाहिँ अहिलेका पार्टीको यथास्थितिको बढी प्रतिरक्षा गर्नुभो कि भन्ने मलाई लाग्यो । म त्यसो गर्दिनँ । अहिलेको नेतृत्वले इतिहासमा गरेको योगदानलाई म भारी आदर गर्छु, तर नेतृत्वको अहिले जुन अवस्था छ, हैसियत छ, मनोदशा छ, म त्यसलाई धेरै सम्मान गर्दिनँ । वामपन्थमा अहिले विश्व दृष्टिकोणमै खतरा छ, विश्व दृष्टिकोेणकै संकट छ । नयाँ सन्दर्भमा वामपन्थलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता भएको छ । हामी त्यसको निम्ति छलफलमा आएका छौँ ।

हिजो बिनु सुवेदीले भन्नुभयो, उहाँको भाषा ट्याक्कै मलाई याद भएन– अहिले नायक खलनायकमा पतन भएको र त्यो पतनको रिक्ततामा खलनायकहरू नायकजस्तो भएर नाचिरहेको अवस्था हो यो । यो सत्य हो । त्यसलाई हामी आफ्नो ढङ्गले बुझ्छौँ होला, आफ्नो ढङ्गले भन्छौँ होला । हिजोसम्म नेपालका कम्युनिस्ट पार्टीको शीर्ष भागमा जो थिए, वाम आन्दोलनको शीर्ष भागमा जो थिए, जो जोको प्रयत्न र सङ्घर्षबाट नेपालको वाम कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइयो, आज तिनीहरू वैचारिक रूपमा पतीत भएका छन्, नैतिक रूपमा पतीत भएका छन् । त्यसैले यो वामपन्थको नेतृत्वको वैचारिक पतनको समस्या हो, नैतिक पतनको पनि समस्या हो । यो विषयमा हामी गम्भीर भएनौँ भने यो पुरानै घोडे साबुनले गधालाई जतिसुकै धोए पनि गाई हुँदैन । यो विषयमा हामी यथार्थवादी हुनुपर्छ भन्ने मलाई लाग्छ ।

नेतृत्व पतन भएको छ । धर्म निरपेक्षता भनिएको छ, आफ्नै देशको मौलिक राम बनाऊँ भन्दै र रामको आविष्कार गर्दै कोही हिँडिरहेको छ, सुनको जलहरीमा आचमन गर्दै हिँडिरहेको छ । गेरु वस्त्र लाएर स्वदेश र विदेशका हिन्दु शक्तिपीठहरूमा भजन गाउँदै सर्वहाराको नेताले ५१ हजार चढाउँदै आएको छ । त्यो भनेको वैचारिक पतन पनि हो, नैतिक पतन पनि हो, यो धेरै गम्भीर विषय हो ।

नेपालका कम्युनिस्ट पार्टीहरू पार्टीजस्ता मलाई लाग्दैनन् । यी धार्मिक सम्प्रदाय हुन् । धार्मिक सम्प्रदायमा सबैभन्दा माथि स्वामी हुन्छ, तल भक्तहरू हुन्छन् । पार्टीमा के छ ? माथि स्वामी छन्, तल दासहरू छन् । एउटा विशाल समूहमा धेरै मान्छे दिग्भ्रान्त हुँदा पनि, धेरै मान्छेले गति छाड्दा पनि, असल मान्छे त्यहाँ रहेका हुन्छन् । जस्तो : यो आयोजना जसले गर्नुभएको हो, नेपालको वामपन्थलाई परिभाषित गर्ने, बुझ्ने, यसलाई जीवन्त बनाउने, यसलाई दिशा दिने जसले चेष्टा गरिहनुभएको छ, उहाँ त पार्टीभित्रकै मान्छे हुनुहुन्छ । यसैले पार्टीभित्र सबै दास छन् भन्ने मलाई लाग्दैन ।

हिजो शम्भु थापाले भनेको एउटा कुरामा त मेरो गम्भीर असहमति छ, उहाँले के भन्नुभो भने, यो प्रयत्नबाट केही पनि लछारपाटो लाग्नेवाला छैन । यदि हामी अन्धकारमा छौँ, हामी निराशामा छौँ । सधैँ यही अन्धकार रहिरहने हो, निराशा रहिरहने हो र हामी केही गर्न सक्दैनौँ भने हामीले त सामूहिक आत्महत्या गरे हुन्छ । बर्तोल्त ब्रेख्तले एउटा कवितामा भने— के अँध्यारो बेलामा कविता लेखिन्छ ? हो, लेखिन्छ, अँध्यारो बेलामा अँध्यारोकै कविता लेखिन्छ ।

हामी निराशाको अवस्थामा छौँ, अँध्यारो अवस्थामा छौँ । यो निराशा र अँध्यारोलाई चिर्नको निम्ति हामी यसको बारेमा चर्चा गरिरहेका छौँ । त्यस्तै यसको बारेमा चर्चा गर्नैपर्छ । यो हतास हुने र भाग्ने कुरा अवश्य होइन ।

बिनु सुवेदीले के भन्नुभयो भने– ‘कम्युनिस्टहरूको आधा भाषा म बुझ्दिनँ ।’ आज पनि यहाँ नयाँ पुस्ताले जे जे भनिरहनुभयो, त्यसले यहाँबाट भनिएका धेरै कुरा नबुझेको जस्तो मलाई लाग्छ । कम्युनिस्ट आन्दोलनलाई हाँक्दै आएको पुस्ताले नयाँ पुस्तासँग नजिकमा रहेर अन्तक्र्रिया गर्नु अहिलेको ज्वलन्त आवश्यकता हो । आदान–प्रदान गर्न आवश्यक छ । नेपालको सामाजिक यथार्थलाई र परिवर्तनको प्रक्रियालाई संयुक्त रूपमा बुझ्न, संयुक्त रूपमा डोर्‍याउन आवश्यक छ, धेरै जनाले के भन्नुभो भने, अहिले नेपालको सबभन्दा ठुलो आवश्यकता भनेको आलोचनाशील चिन्तन र सिर्जनशील चिन्तन हो । हामीले पार्टीभित्र निर्माण गर्नुपर्ने कुरा पनि त्यही हो ।

शम्भुजीले भनेको सम्झने हो भने, पार्टीभित्रका मान्छेहरू यहाँ आउँदाखेरी जति प्रतिवादीको रूपमा कुरा गर्नुहुन्छ, जति विद्रोहीको रूपमा कुरा गर्नुहुन्छ, पार्टीको स्वामीको नजिकमा गएपछि लज्जावती झारजस्तो ओइलाउनुहुन्छ । यो सुनेर तपाईंहरू कतिजनाले ‘म म’ भन्नुभयो मलाई थाहा छैन, ‘म म’ भन्नुपथ्र्यो होला । तर त्यसो हुँदाहुँदै पनि पार्टीका स्वामीहरूसँग संवाद गर्न सक्ने तपाईंको आलोचनाशील बागी शक्ति पार्टीभित्रैबाट निर्माण गर्नुपर्छ । बौद्धिकहरूले, चिन्तकहरूले, साहित्यकारहरूले निर्माण गरेको चेतनालाई संगठित भौतिक शक्तिमा रूपान्तरण गर्ने भनेको पार्टीमै हो, दलमै हो, दलको नेतृत्व हो । यी दुइटा कुराको बिचमा संयोजन नगरीकन हामी कहीँ पनि पुग्दैनौँ । यो व्यवस्थामा कुनै पनि असल व्यक्तिलाई भ्रष्ट बनाउनुका निम्ति निर्वाचन प्रणाली नै पर्याप्त छ । एउटा वडाध्यक्ष जित्नका निम्ति ५० लाख खर्च गर्नुपर्ने अवस्था आएको छ । सांसदको कुरा छाडिदिनुस्, सांसद जित्नको निम्ति दुई–चार करोडको आवश्यकता हुन्छ । यो कहाँबाट आउँछ ? तपाईंले भन्नुभएको दलाल पुँजीपतिबाट आउँछ । दलाल पुँजीपतिले तपाईंको चुनावमा लगानी गरेपछि चुनाव जितेपछि तपाईंले सेवा गर्ने कसको, जनताको ? देशको ? होइन, त्यही दलालको हो । त्यसैले जो यो चुनावबाट प्रवेश गर्छ, भ्रष्ट हुनको निम्ति त्यो अभिशप्त छ । त्यसैले वामपन्थी कम्युनिस्टहरू यो सत्तामा प्रवेश गरेर भ्रष्ट नहुने हो भने, सबैभन्दा पहिलो सर्त कि त निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, कि चुनाव लड्नै हुँदैन । जो प्रवेश गर्छ, त्यो सकियो । हिम पाइपमा वल्लो छेउबाट छिराएपछि पल्लो छेउमा के खुत्रुक्क खस्छ भन्थे नि, हुने त्यही हो ।

केही समयअगाडि म जनकपुर गएको थिएँ, त्यहाँको एउटा मुसहर बस्तीमा पुगेँ । त्यो मुसहर बस्तीको दुःख प्रेमचन्द्रले आफ्ना कथाहरूमा जे जति दुःखको चित्रण गरेका छन्, त्यसको दाँजोमा दश गुणा बढी दुःख छ । एक धुर जमिनमा मान्छेका घरहरू छन्, एउटा कोठामा तीन पुस्ता बस्छ– आमाबाबु, छोराछोरी र नातिनातिना । छोराबुहारी, नाति र नातिनीबुहारी । पकाउने ठाउँ त्यहीँ छ, बाख्रा त्यहीँ राखिन्छ, कुखुराका चल्लाहरू त्यहीँ राखिन्छ । खानेकुरा छैन, ओढ्ने छैन, लाउने छैन, केटाकेटी स्कुल जाँदैनन्, त्यहाँबाट हेर्दाखेरी वामपन्थ देखिएन । त्यो मुसहर बस्तीमा तिनको दुःखको बिचमा उभिएर तपाईं वामपन्थलाई हेर्नुस्, वामपन्थ कहीँ पनि देखिँदैन । वामपन्थी कम्युनिस्ट भनेको त श्रमिक जनताको कल्याणको पक्षमा, तिनको जागरणका लागि, तिनको मुक्तिका लागि लड्ने संस्था होला नि ! त्यसैले अहिले कम्युनिस्ट पार्टी जनतामा छैन । हामी सुकिलामुकिलाका बिचमा बौद्धिक विमर्श त भएकै छ, त्यसलाई म बौद्धिकविलास त भन्दिनँ, यो बहस आवश्यकै छ, त्यसैले हामी त्यहाँ जान आवश्यक छ ।

अन्त्यमा पाशको एउटा कविताको एक टुक्रा सुनाएर म तपाईंंलाई धन्यवाद दिन्छु । पाश भारतका धेरै राम्रा कवि हुन्, उनका कविताहरू बराबर देशविदेशमा अंग्रेजीमा अनुदित पनि भएका छन्, ठाउँठाउँमा तिनको उल्लेख पनि भइरहन्छ ।

सबसे खतरनाक होता है 

मुर्दा शान्ति से भर जाना 

न होना तडप ना सब कुछ सहन कर जाना 

घर से निकलना काम पर 

और काम से लौटकर घर आना 

सबसे खतरनाक होता है 

हमारे सपनों का मर जाना । 

सपनाको रक्षा गरौँ, सपनाको रक्षा गरिएसम्म वामपन्थ जिउँदो रहनेछ ।

(नेपाल अध्ययन केन्द्रद्वारा आयोजित आजको वामपन्थ– २ गोष्ठीमा लेखक एवं वामचिन्तक खगेन्द्र संग्रौलाले राखेका विचारको सम्पादित अंश ।)

तपाईको प्रतिक्रिया