अपडेट

जापान विमान दुर्घटना: हानेदा विमानस्थलमा सबै उडान रद्ध

काठमाडौँ। जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्ध भएका छन्।

उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ। मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान ‘कोस्ट गार्ड’ सँग ठोक्किएर आगलागी भएको थियो। सो घटनामा पाँच जनाको मृत्यु भएको छ। अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो।

यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएका जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ। यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन्।

यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ। उडान स्थगित हुँदा प्रभावित भएका यात्रुहरुको सुविधाका लागि सेन्ट्रल जापान रेलवे कम्पनीले बुधबारका लागि थप बुलेट ट्रेनको व्यवस्था गरेको छ। कम्पनीले टोक्योदेखि शिन-ओसाकासम्मका लागि थप चार वटा बुलेट ट्रेन सञ्चालन गरेको छ।

तपाईको प्रतिक्रिया