काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको संगठन ठूलो भए पनि त्यसअनुसारको नतिजा प्राप्त हुन नसकेको बताएका छन्।
आइतबार सन्त नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसको सन्दर्भमा आयोजित विमर्शसभामा बोल्दै महामन्त्री थापाले कांग्रेसलाई आफ्नै भारी हुन थालेको बताए।
‘०४८ सालको निर्वाचनमा किसुनजीले आफैँ चुनाव हार्नुभयो, त्यो फरक कुरा छ। तर, कांग्रेसले सबैभन्दा धेरै मत पाएको निर्वाचन त्यो थियो। त्यो निर्वाचनमा कांग्रेसले ३९ प्रतिशत मत पाएको थियो। तर, त्यसबेला न पार्टीमा यति धेरै सदस्य थिए, न भ्रातृ संस्थाहरू नै थिए, बरू जिल्लामा समेत सगठन बनिसकेको थिएन,’ महामन्त्री थापाले भने, ‘संगठन अथवा शरीर एकदमै धेरै भद्दा भयो भने त्यसले आस्थालाई थिच्छ भन्ने कुरा यही होला सायद, अहिले हाम्रो संगठन ठूलो छ, नतिजा खुम्चिएको छ।’
उनले दलहरू खुल्नुको औचित्य खाली निर्वाचन लड्नुमात्रै पनि नहुने बताए। ‘पार्टीहरू निर्वाचन प्रयोजनका लागि मात्रै गठन भएका होइन, अहिले हामी खाली कि पार्टीको निर्वाचन कि आमनिर्वाचनका बेलामात्रै पार्टीको महत्व दर्शाइरहेका छौँ कि भन्ने लाग्छ,’ उनले भने। महामन्त्री थापाले कांग्रेसलाई नयाँ ढंगले अघि बढाउन अहिले विभिन्न छलफल र बहसको बाटो रोजिएको बताए।

दियो खबर । ९ पुष २०८०, सोमबार ०८:१९