काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको जहाज खरिदलाई पारदर्शी बनाउन निर्देशन दिएका छन्।
उनले जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिए । आइतबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना र प्रगतिका विषयमा जानकारी लिएपछि प्रधानमन्त्री दाहालले जहाज खरिदलाई पारदर्शी बनाउन मन्त्री र कर्मचारीलाई निर्देशन दिएका हुन् ।
ुनेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्,ु प्रधानमन्त्री दाहालको निर्देशन छ ।
दाहालले कतिपय नीति नियमहरु पर्यटकमैत्री नभएका कारण समस्या भएको भन्दै त्यस्ता नीतिहरुमा सुधार गर्नुपर्ने बताए । उनले निषेधित क्षेत्र घोषणा गरिएका पर्यटकीय गन्तव्यहरुमा त्यसलाई खुला गरेर पर्यटन व्यवसायलाई सहज बनाउनुपर्ने बताए ।
‘एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो काम गरे पनि आलोचनामात्रै गर्ने संस्कृति बढेको छ, उनले भने, ‘राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ । यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन् । यो कुरालाई हामीले बदल्नुपर्छ ।’

दियो खबर । ९ पुष २०८०, सोमबार ०८:१७