अपडेट

म रहेसम्म गणतन्त्रमाथि आँच आउन दिने छैन: राष्ट्रपति पौडेल

विराटनगर। राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म र तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताएका छन्।

शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीहरुको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘तपाईँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन’ राष्ट्रपति पौडेलले भने । संविधानले दिएको जिम्मेवारी निष्ठापूर्वक पालना गर्ने उनको भनाइ छ ।

संविधानले निर्देश गरेको समाजवादउन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति नरहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया