काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायज नहुने बताएका छन्।
उनले गणतन्त्रको विकल्प गणतन्त्र, राजतन्त्र हुन नसक्ने बताए । सत्तारुढ दल माओवादी केन्द्रको चन्द्रागिरी नगरपालिका–२ मा शनिबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादीक्रान्ति पूरा भयो । तर, जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । तीन जना राष्ट्रपति भए । आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामीले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’
गणतन्त्र प्राप्तीपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित भएको भन्दै उनले आर्थिक समृद्धिको काम अझै बाँकी रहेको बताए ।
उनले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै भने, ‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्ड विरुद्धको अभियान चलाएको छ । अरुले सुन पास गराइरहेका थिए । माओवादी नेतृत्वको सरकारले समात्यो त के नराम्रो भयो रु’

दियो खबर । ८ पुष २०८०, आईतवार ०८:०८