अपडेट

मन्त्री ज्वाला नेतृत्वको टोलीले गर्यो छाङरु र तिङ्करको हवाई निरीक्षण

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला–तिङ्कर सडकको अनुगमन गरेको छ।

बिहीबार मन्त्री ज्वालासहितको टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो। मन्त्री नेतृत्वको टोलीले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको व्यास गाउँपालिकाको तुसरपानीदेखि तिङ्करसम्म ७९ किलोमिटर सडकको जिरो प्वाइन्टको अनुगमन गरेको हो। ७९ किलोमिटरमध्ये अहिलेसम्म १० किलोमिटर सडकको ट्र्याक खोलिएको छ।

मन्त्री ज्वाला नेतृत्वको टोलीले व्यास गाउँपालिका–१ को छाङरु र तिङ्करको हवाई निरीक्षण पनि गरेको छ। निरीक्षणका क्रममा मन्त्री ज्वालाले तिङ्कर सडकको काम चाँडो सक्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ। सडकको राष्ट्रिय महत्त्वलाई ध्यानमा राख्दै आवश्यक बजेटको व्यवस्था मन्त्रालयबाट गरिने उहाँले बताउनुभयो।

अनुगमन टोलीमा मन्त्री ज्वालासहित दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सहसचिव उमेश विन्दु श्रेष्ठ, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका सु.ई.श्यामबहादुर खड्का, नेपाली सेनाका विकास निर्माण निर्देशनालय प्रमुख विकास पोखरेलको सहभागिता थियो।

बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुलाको तुसारपानी–कोठेधार–तिङ्कर सडक खण्डको काम यथाशीघ्र सम्पन्न गर्न आवश्यक बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया