काठमाडौं। बार्सिलोनालाई ४-२ ले पराजित गर्दै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।
आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अर्टेम ढोभबिकले १२औं मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । रोबर्टो लेवान्डोस्कीले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर मिगुएल गुटिरेजले ४०औं मिनेटमा गोल गरेपछि जिरोनाले पहिलो हाफमै २-१ को अग्रता बनायो।
भालेरी पर्नान्डेजले ८०औं मिनेटमा गोल गर्दै जिरोनालाई ३-१ को अग्रता दिलाए। इन्जुरी टाइमको दोस्रो मिनेटमा बार्सिलोनाका इल्के गुन्डागोवनले गोल गर्दै गोलअन्तर घटाएका थिए। तर इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रिस्टियन स्तुअनीले गोल गरेपछि जिरोनाले बार्सिलोनामाथि चर्चित जित निकालेको हो ।
जिरोनाको यस सिजनको प्रदर्शनलाई धेरैले आश्चर्यजनक रुपमा लिएका थिए । तर बार्सिलोनालाई पराजित गरेपछि जिरोनाले आफ्नो क्षमता देखाउँदै अंक तालिकामा किन माथि छ भने समेत प्रमाणित गरेको छ ।
जितपछि १६ खेलबाट ४१ अंक जोडेर जिरोना शीर्ष स्थानमा उक्लेको छ । जिरोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि दुई अंकको अग्रता बनाएको छ । यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिड र चौथोमा झरेको बार्सिलोनामाथि समान ७ अंकको अग्रता बनाएको छ ।अल्मेरियालाई २-१ ले हराएको एट्लेटिकोले १५ खेलबाट ३४ अंक जोडेको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक छ ।
दियो खबर । २५ मंसिर २०८०, सोमबार ०७:३२