कोशीका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकियो

मोरङ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि बिनाविभागीय मन्त्री रहेकालाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

बिनाविभागीय मन्त्री कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीसँगै राई असोज २८ गते बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए भने उप्रेती र जबेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए ।

तीन मन्त्रीले जिम्मेवारी पाए पनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिँचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ ।

सभामुखको निर्वाचन भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार तथा पूर्णता दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएर तत्कालीन मुख्यमन्त्री उद्धव थापाको मन्त्रिपरिषद्‌मा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सभामुख पद रिक्त छ ।

तपाईको प्रतिक्रिया