अपडेट

सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या

सिरहा। सिरहमा दुई छुट्टाछुट्टै ठाउँमा दुई महिलाको हत्या भएको छ।

सिरहा नगरपालिका–१५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको ७ मंसिरमा र कल्याणपुर नगरपालिका–८ बड्कीटोलकी संगीता कुमारी दासको २७ कात्तिकमा हत्या भएको हो।

सञ्जिताको हत्या आरोपमा उनका श्रीमान ४० वर्षीय देवेन्द्र यादव र संगीताकुमारीको हत्या आरोपमा ससुरा ५१ वर्षीय रामअशिष दास पक्राउ परेका छन्। पक्राउ परेका दुबै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार ७ मंसिरको राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जितमाथि कुटपिट गरेका थिए। कुटपिटबाट उनको मृत्यु भएको थियो। घटना ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकले प्रहरीलाई जानकारी गराएको र अनुसन्धानबाट हत्या गरेको खुलेको डीएसपी पाण्डेले बताए।

प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०/३५ किलोमिटर टाढा भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँबाट सञ्जिताको शव बरामद गरेको थियो। देवेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिइसकेको छ।

त्यस्तै कल्याणपुर नगरपालिका–८ मा घरायसी विवादको क्रममा ससुरा दासले टाउकोमा बञ्चरो प्रहार गर्दा बुहारी संगीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ। घटनापछि फरार रहेका दासलाई प्रहरीले मंसिर १ गते पक्राउ गरेको थियो। उनलाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया