धनराज वास्तविक
नेपाली राजनीतिले चार दशक पार गरिरहँदा धेरै राजनीतिक उथलपुथल भए । चार दशक अघि न एफएम रेडियो, न ठूला दैनिक अखबर, न त टेलिभिजन च्यानल न त इन्टरनेटको विकास नै थियो ।
पञ्चायती निरंकुश शासकको दबदबा रहेको बेला राजनीतिक दलहरू प्रतिबन्धित थिए । नेता तथा कार्यकर्ता कोही जेल, कोही भूमिगत, कोही भारततिर गतिविधि गरिरहेका थिए । सूचना र विचारको स्रोत संचार माध्यम नै हुन् । तर, पञ्चायती शासकहरूले सम्पूर्ण सञ्चार माध्यमलाई आफ्नो नियन्त्रणमा लिएका थिए । त्यस्तो बेला पञ्चायती निरंकुश शासकका विरुद्ध बोल्ने, लेख्ने आँट गर्नु भनेकै ज्यान हत्केलामा राख्नु बराबर थियो ।
यी दौरानमा घटेका राजनीतिक घटनाक्रमहरूको साक्षीका रूपमा रहेको दृष्टिले निरंकुश पञ्चायती व्यवस्थाविरूद्ध ओकलेका क्रान्तिकारी अक्षरहरूको बयान शब्दमा प्रकट गर्न मुस्किल हुन्छ । राजनीतिक दलमाथि प्रतिबन्ध लाग्दा र नेता, कार्यकर्ताहरू जेलमा हुँदा दृष्टिले वैचारिक संगठनका रूपमा काम गरेको इतिहास छ ।
कम्युनिष्ट विचारधारालाई आत्मसात गरेको दृष्टिले निरंकुश शासन व्यवस्थाविरुद्ध चेतना जगाएको, कम्युनिष्टप्रति जनमत निर्माण गरेको र जनतालाई राज्यविरुद्ध आन्दोलित बनाउने काम गरेको अभियोगसमेत खेप्नु परेको थियो ।
दृष्टिले निरंकुशताको अन्त्य र गणतन्त्रको स्थापनालाई मुख्य मुद्धा बनाएपछि पत्रिकामा कार्यरत पत्रकारहरूले जेलनेल भोग्नु परेको गौरवमय विगत छ । साथै आफ्नो स्थापनाकालदेखि आजका दिनसम्म दृष्टि राज्यका खराबीमाथि खबरदारी गर्दै आएको छ । साथै राज्यले गरेका राम्रा पक्षको खुलेर प्रसंशा गर्नसमेत चुकेको छैन ।
सत्य, तत्थ्य र निश्पक्ष सूचना प्रवाह गर्ने कामसँगै वैचारिक पाटोलाई समेत स्पष्ट रूपमा अघि सार्दै आएको छ । आज समाजवादी दृष्टिकोण र विचारबाट जनतालाई सुसूचित गर्दै सभ्य र समृद्ध समाज निर्माणको महाअभियानमा अरोरात्र समर्पित छ ।
तत्कालीन नेकपा माले, त्यसपछि एमाले र आजका दिनमा एकीकृत समाजवादीको अघोषित मुखपत्रका रूपमा हेरिने दृष्टि साप्ताहिकले अनेकन बाधा अवरोध, दुःख अभाव, उचार चढाव, जेल, नेल, भोग्नु परेपनि आफ्नो आस्थालाई ढल्न दिएको छैन । योभन्दा ठूलो त्याग अर्को के हुन्छ ?
लुकीलुकी पत्रिका छाप्ने, पढ्ने र बाँड्नुपर्ने कालरात्रीदेखि गणतन्त्रको सुनौलो बिहानीसम्म आइपुग्दा दृष्टिले आफ्नो विचार र सिद्धान्तलाई कुनै पनि स्वार्थ र शक्तिसामु झुक्न दिएन । आजका दिनमा पनि दृष्टिले स्थापनाकालिन उद्देश्यलाई जीवित राखेर यात्रालाई थप मजबुद बनाउँदै गइरहेको छ । एक वाक्यमा भन्नुपर्दा विशाल लक्ष्य प्राप्तिको लडाइँमा दृष्टि अविचलित आन्दोलनरत छ । खैर, एउटा पाठकीय दृष्टिकोणबाट दृष्टिलाई विभिन्न आयामहरूसँग जोडेर हेर्न सकिन्छ ।
लोकतन्त्रका पक्षमा दृष्टि
२०४६ सालको जनआन्दोलनदेखि आजसम्मका विभिन्न राजनीतिक आन्दोलनमा दृष्टिको सक्रिय सहभागिता रहँदै आएको छ । लोकतन्त्रिक मूल्य मान्यतालाई सवलिकरण बनाउनका निम्ति पहरा दिइरहेको छ । राज्यको प्रतिपक्षी बनेर उभिरहेको छ । वैचारिक स्पष्टता नै दृष्टिको नैतिक बल हो ।
जनजनका विषय र मनमनका कुरा लेख्न साधारण नैतिकताले दिँदैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने मान्यता दृष्टिले बोकेको छ । साथै शोषित, पीडित र श्रमजीवी वर्गको पक्षमा समर्पित रहँदै दृष्टिले मुलुकलाई समृद्ध बनाउनुपर्छ भनिरहेको छ । मुलुकलाई समृद्ध बनाउने हो भने सुशासनलाई प्रथमिकता दिनुपर्छ ।
लोकतन्त्रको लागि हजारौं जनताले बलिदानी दिएको स्थितिलाई दृष्टिगत गर्दै मुलुकको विकास र नेपाली जनताको समृद्ध जीवनका निम्ति खासगरी नेताहरू इमान्दार बन्नुपर्छ भन्ने दृष्टिको स्पष्ट लाइन र अडान हो ।
लोकतन्त्र स्थापनापछि जनताले के पाए ? कति पाउन बाँकी छ ? आजको दिनमा राजनीतिक दलसामू दृष्टिले समीक्षाका निम्ति अघि सारेको सार्वजनिक सवाल हो । लोकतन्त्र स्थापना भएर मात्रै हुँदैन, नेताहरूको प्रवृत्ति र व्यवहार बदल्न सकिएन भने समाज अर्को कित्तामा पुग्छ भन्ने कुरा दृष्टिले बारम्बार चेतावनी दिएको छ ।
वैचारिक विचलनविरुद्ध दृष्टि
राज्यको दमनका विरुद्धमा मात्रै नभएर वैचारिक सम्बन्धमा जोडिएका व्यक्ति र विचारमाथि पनि कठोर बन्न सक्ने दृष्टिको अर्को महत्वपूर्ण विशेषता हो । खासगरी एमालेकालिन अवस्थामा यो वा त्यो नेताको गुटका रूपमा दृष्टिलाई विभाजन गर्न नखोजिएको पनि होइन । तर, माथि भनिएझैं आफ्नो वैचारिक र नैतिक धरातल बलियो बनाएको हुनाले नै आजसम्म दृष्टिले श्रृष्टिका सामु शीर झुकाउनु परेको छैन ।
गम्भीर विषय र मुद्धाहरूबारे समाचार र विचार प्रकाशन गर्दा प्रतिप्रश्न उठाउने ठाउँ राखेको छैन । साथै, देश र जनताले भोग्नुपरेका प्राकृतिक प्रकोप, विदेशीको नाकाबन्दी, महामारी जस्ता संवेदनशील विषयमा दृष्टिले आफ्नो भूमिका बलियोसँग पूरा गर्दै आएको छ ।
राष्ट्र, राष्ट्रियता र जनता सर्वोपरी हुन् भन्ने कुरामा दृष्टि स्पष्ट छ । यस्ता खालका अनेकन विषयसँगै दृष्टिले ६० र ७० को दशकमा मुलुकले भोग्नु र झेल्नुपरेका राजनीति र गैरराजनीतिक घटनामा अहम् भूमिका खेलेको छ । त्यतिबेला सीमित संख्यामा रहेका अन्य पत्रिकाको भिडमा गर्भिलो इतिहास बोकेर अघि बढिरहेको दृष्टिले एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा (नेकपा) ले दुई तिहाई जनमतलाई कुठाराघात गरेको निष्कर्ष निकालेको थियो ।
भलै त्यो समयमा पत्रिकाले सरकारको विरोध गरेको आरोपसमेत खेप्नु पर्यो । तर, दृष्टि साप्ताहिक लोकतन्त्र र जनताको मतप्रति सचेत थियो । नभन्दै केपी ओली र प्रचण्डबीचको सत्ता लडाईँका कारण नेकपाको अस्तित्व समाप्त भयो । अन्ततः दृष्टिले खेप्नु परेको आरोप खण्डित भयो ।
नेपाली जनताले कम्युनिष्ट पार्टीलाई दिएको त्यो विशाल मतको सदुपयोग हुन नसक्दा आज नेपाली कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको चरणमा आइपुगेको कुरा घाम जस्तै छ । वैचारिक र राजनीतिक स्खलनको सिकार बनेका ओली र प्रचण्डबीचको यदुवंशी लडाईको विपक्षमा उभिनु दृष्टिको कर्तव्य थियो ।
भारूण्ड पन्छीको जस्तै दुईवटा मुख र एउटा शरीर बनाएको नेकपा बचाउन दृष्टिले आलोचनात्मक प्रयत्न गरेको थियो । तर, मुख्य नेतृत्व नै वैचारिक विचलनको सिकार बनेपछि नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो शक्ति क्षयिकरण सहनु परेको हो ।
खासगरी केपी ओलीेको प्रतिगामी कदमका (संसद विघटन) विरुद्ध दृष्टि जति सायदै अन्य पत्रिका कठोर बने । आज सहतमा देखिन थालेको अस्थिरताको मुल कारण नै ओलीले गरेको संसद् विघटन हो भन्ने कुरा दृष्टिलाई राम्रोसँग थाहा छ ।
अन्त्यमा, यो अंकदेखि दृष्टि ४१औं वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा यसको नेतृत्व र यसमा कार्यरत पत्रकार, कर्मचारी साथीहरूलाई हार्दिक बधाईका साथै समाज विकास र लोकतन्त्रको पक्षमा सतिसालझैं उभिने प्रेरणा मिलोस् हार्दिक शुभकामना !
दृष्टि साप्ताहिकको ४१औं वार्षिकोत्सवका अवसरमा मंसिर ५ गते प्रकाशित भएको थियो।
दियो खबर । १३ मंसिर २०८०, बुधबार ०७:५४