काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको दोस्रो दिन तीन वटा प्रस्तावमाथि छलफल भएको छ।
मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठकमा दोस्रो दिन पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए। उपाध्यक्ष डीपी अर्यालका अनुसार पार्टी स्थापनादेखि अहिलेसम्म सवा ६ करोड पार्टीको आम्दानी र करिब पाँच करोड खर्च देखिन्छ।
रास्वापाले निर्वाचन आयोग र कर कार्यालयमा समयमै आफ्नो पार्टीको आर्थिक प्रतिवेदन बुझाएको लेखा आयोगको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको उनको भनाइ छ।
पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले अहिलेसम्म प्रशिक्षण सम्बन्धी भए गरेका कुरा पेस गरेका थिए। यस्तै सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए। बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए।
१६५ वटा निर्वाचन क्षेत्रमध्ये १५२ क्षेत्र समिति बनेको बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख छ। बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए। यस्तै पदाधिकारी थप्न विषय बैठकको एजेण्डामा नरहेको बताए।
‘पदाधिकारी थप्ने विषयमा मलाई थाहा छैन। मसँग कुनै छलफल भएको छैन। पदाधिकारी थप्ने निर्णय हुँदैन। यो एजेण्डा नै छैन। जे हो मैले त्यही बताउने हो,’ अर्यालले रातोपाटीसँग भने। आज संयुक्त बैठकअघि बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलकोतर्फबाट प्रतिवेदन पेस गरेका थिए।
यसअघि सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग र प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ। पहिलो दिन रास्वपाका सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए।

दियो खबर । १३ मंसिर २०८०, बुधबार ०७:४७