काठमाडौं। आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्दै त्रिभुवन आर्मी क्लबले केपी ओली कप टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो ।
आर्मीले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमा अलआउट भयो ।
मदनभण्डारी स्पोर्टस एकेडेमीको लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । ओपनर रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए ।
अन्य कुनै ब्याटरलाई दोहोरो अंकमा रन बनाउन आर्मीका बलरले दिएनन् ।
आर्मीका लागि बायाँ हाते स्पिनर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया र साहब आलमले २/२ विकेट लिए । सोमपाल कामी विकेट विहीन बनेको खेलमा विवेक यादव र रोहित पौडेलले १/१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको आर्मीका लागि ओपनर सन्तोष कार्कीले सार्वधिक ४१ रन बनाए । कप्तान विनोद भण्डारीले ३८, वसिर अहमदले २३, कुशल मल्ल २५, रोहित पौडेलले १२ रन बनाए । विवेक यादव २९ रनमा तथा भीम सार्की ६ रनमा अविजित रहे ।
मदनभण्डारीका लागि मेहोल श्रेष्ठले सर्वाधिक २ विकेट लिए । कौशल रुपाखेती र धावन सहनीले १/१ विकेट लिए ।
दियो खबर । ११ मंसिर २०८०, सोमबार १८:०३