अपडेट

सांसद योगेश भट्टराई सवार गाडी तोडफोड

काठमाडौँ।  एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ।

आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले आक्रमण गरेका हुन्। सात/आठ जनाको समूहमा रहेकाहरुले भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए। आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको प्रत्यक्षदर्शीले बताएका छन्। भट्टराईको गाडीलाई सशस्त्र र नेपाल प्रहरीको स्कर्टिङमा लगिएको थियो। सिसाहरु छरपस्ट भए पनि मान्छे भने कोही घाइते नभएको एमालेले जनाएको छ।

यसअघि मध्याह्न एमाले र पहिचान पक्षधर कार्यकर्ताबीच झडप भएको थियो । उनीहरुले भट्टराईको निवास अगाडि प्रदर्शनसमेत गरेका थिए ।दसैं, तिहार, छठ, नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा भट्टराईसहित एमालेबाट निर्वाचित सांसदहरु उर्मिला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बोले चियापान कार्यक्रम आयोजना गरेका थिए। दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताएका छन् ।

प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । यसअघि एमालेकै प्रदेश सांसद मेन्याङ्बो, माओवादीका इन्द्र आङ्बो लगायतका नेतामाथि यही क्षेत्रमा आक्रमण गरिएको थियो ।

तपाईको प्रतिक्रिया