काठमाडौँ। नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन्।
यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए। ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्छ। उसको आगमनले टिममा थप सन्तुलन मजबुत भएको छ’, उनले भने।
सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन्। ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ। उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने।
सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ। यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ। गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताए।
पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू-१९ टिमको कप्तान तोकिएका थिए। तर, त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन्।
दियो खबर । १० मंसिर २०८०, आईतवार १७:०८