उडिरहेको विमानभित्र घोडा फुस्केपछि….

न्यूयोर्क। असहज अवस्था निम्तिएपछि उडिसकेको बोइङ ७४७ कार्गो जेटलाई विमानस्थल नै फर्काइएको छ। विमानभित्र स्टलमा बाँधेर राखिएको घोडा फुकेपछि करिब ३१ हजार फिटमाथि उडिरहेको विमानलाई फर्काइएको हो।

नोभेम्बर ९ मा विमान न्यूयोर्कको जोन एफ केन्नेडी विमानस्थलबाट बेल्जियमको लिएजतर्फ १५ वटा घोडा बोकेर सो विमान उडेको थियो । विमान उडेको ९० मिनेटपछि स्टलमा बाँधिएको घोडा एकाएक फुक्यो भने उफ्रिएर स्टलको बारमा अड्कियो। वर्षभरमा आफूहरूले हजारौँ घोडा कार्गोबाट पठाउने गरेको भएपनि यस्तो खालको घटना चाँहि आफूले दोस्रो पटक देखेको जोन एफ केन्नेडी विमानस्थलमा पशु क्वारेनटिन र निर्यात विभागका प्रमुख जोन कुटिसेल्ली भन्छन्।

केही गरेर पनि घोडालाई स्टलमा फर्काएर बाँध्न नसकेपछि विमानलाई फर्काइयो । ‘विमान उडाउन हामीहरूलाई कुनै समस्या छैन, तर हामीले घोडालाई बाँध्न सकेनौँ,’ एक जना पाइलटले भनेका थिए । सो विमान सोही दिन ३ घण्टा पछि पुनः उडेको थियो । यस्तो खालको घटना नयाँ भने होइन । सन् २०२३ को अक्टोबरमा बैंककबाट उडेको भियतजेटमा एउटा अटर र मुसा भागेपछि विमानभित्र हङ्गामा मच्चिएको थियो । बग्दादबाट दुबईतिर गइरहेको एउटा विमानमा क्रेटमा राखिएको बाघको बच्चा भागेपछि पनि विमानभित्र खैलाबैला भएको थियो ।

तपाईको प्रतिक्रिया