अपडेट

नौबिसे सुरुङ छिचोल्न अब दुई सय मिटर बाँकी

नागढुंगा। नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब दुई सय मिटर मात्रै बाँकी रहेको छ।

सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २४ सय ८७.४० मिटर सुरुङ खन्ने काम सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार सुरुङमार्गको काम सम्पन्न गर्न भने अझै एक वर्ष समय लाग्ने भएको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले एक वर्षभित्रै सुरुङमार्ग निर्माणको काम सम्पन्न हुने दावी गरे। ‘एक वर्षभित्रै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,’ उनले भने ‘दुई सय मिटर सुरुङ खनेर ब्रेकथ्रु गरेपछि सुरुङको भुइँको ढलान (लाइनिङ) गर्ने काम भने अझै बाँकी नै छ।’ आयोजनाको इभ्याक्युएसन टनेल भने गत अगष्ट ७ मा ब्रेक थ्रु भएको थियो।

आयोजनाका अनुसार वर्किङ अडिटतर्फ १२६ मिटर काम भएको छ। त्यसैगरी क्रस प्यासेजतर्फ पनि एक सय २८ मिटरको मात्रै काम भएको छ। आयोजनाका अनुसार कुल सुरुङमार्गतर्फको भौतिक प्रगति भने ९६.४० प्रतिशत भएको छ। अझै ३.६० प्रतिशत काम बाँकी छ।

आयोजनाका प्रमुख श्रेष्ठले सुरुङमार्गको भुइँ ढलान–कंक्रिट लाइलिङको काम भने एक हजार तीन सय ८५ मिटर अर्थात ५१.५० प्रतिशत भएको छ। आयोजना प्रमुख श्रेष्ठका अनुसार सुरुङ मार्गको बाँकी लाइलिङ तथा अन्य प्रविधि जडान लगायतको काम सम्पन्न गर्न एक वर्ष समय लाग्ने बताए।

सुरुङमार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति ६५.३५ प्रतिशत र वित्तीय प्रगति ६०.८२ प्रतिशत भएको छ। आयोजनाका अनुसार फ्लाइओभर निर्माणका लागि आवश्यक पर्ने जग्गााको ९५ प्रतिशत मुआब्जा र क्षतिपूर्ति वितरण गरिसकेको छ।

सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो।

यो परियोजनामा अहिलेसम्म पनि मुख्य सुरुङको ब्रेक थ्रु र फिनिसिङ लगायतका काम अधुरै भएकाले पनि तोकिएको समयमा नसकिने भएको हो। यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो तर थपिएको समयमा पनि आयोजना सम्पन्न नहुने भएपछि २५ अप्रिल २०२४ सम्म म्याद थप गरिएको छ।

तपाईको प्रतिक्रिया