काठमाडौँ। श्री पशुपति गौशाला धर्मशालाका महासचिव महावीर घिराईयाले धर्मशालामा प्रत्येक दिन ६ सय लिटर दुध उत्पादन हुने गरेको बताएका छन्।
सोमबार ८३औं गोपाष्टमी पर्वको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा महासचिव घिराईयाले उक्त कुरा बताउनु भएको छ। धर्मशालाका अध्यक्ष चतुर्भुज सरियाको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषद्का पूर्व अध्यक्ष चिरंजीलाल अग्रवालको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘गौशालामा हाला ८० वटा दुहुना गाई रहेका छन्।
जसबाट दैनिक ६ सय लिटर दुध उत्पादन भइरहेको छ। यस मध्ये गौशालास्थित श्री कृष्ण मन्दिरमा पञ्चामृतको लागि १.७५० ग्राम र समाजका महानुभावको सहयोगमा पशुपतिनाथ मन्दीरमा दैनिक २९ लिटर दुध पूजा अर्चनाको लगि उठाउने गरिएको छ।’
गौशालामा २ सय ४४ गाई
महासचिव घिराईयाका अनुसार गौशाला धर्मशालामा २ सय ४४ गाई रहेका छन्। जसमध्ये ८० वटा दुहुना गाई रहेका छन्। त्यस्तै दुध नदिने ६७ वटा, २० वटा साना बाच्छा, २८ वटा बाच्छि, ३२ वटा कोरेली बाच्छी, १३ वटा बहर, ४ वटा साँढे रहेका छन्। यि गाईहरुलाई दैनिक गौधाम धार्केले उत्पादन गरेको १५ सय किलो घाँस खुवाउने गरिएको छ।
गौसेवाका निम्ति जन्मदिन, वैवाहिक वर्षगाँठ, विवाह आदीका अवसरमा महानुभावहरुको उत्साहपूर्ण सहभागिता रहेको महासचिव घिराईयाको भनाई छ। २०७८ सालदेखि प्रत्येक गाई एक महिनाको लागि ५१ सय, तीन महिनाका लागि १५ हजार, ६ महिनाका लागि २७ हजार र वर्ष दिनका लागि ५१ हजार तोकिएको छ।
धार्के गौधाममा एक सय १९ वटा गाई
गौधाम धार्के धादिङमा रहेको बाँझो जमिन हरियो घाँस उत्पादन गर्दै आएको छ। प्रत्येक दिन गौशाला काठमाडौँको लागि १५ सय किलो घाँस ल्याउने गरिएको छ। गौधाम धार्केमा बुढी गाई ४४ वटा, दुहुना गाइ ३, थारो गाई कोरली बाच्छी ५२ वटा, सानो बाच्छी ८, सानो बाच्छा ६ वटा, सानो बहर ४ र साँढे २ वटागरी जम्मा ११९ गाईबस्तु रहेका छन्।
धर्मशालामा एक लाख ८४ हजारलाई आवास
महासचिव घिराईयाका अनुसार धर्मशालामा हाल १ सय ५० कोठा रहेका छन् भने ४ वटा हलहरु रहेका छन्। रंग, रोगन, मर्मत सम्भारका कार्यहरु निरन्तर भइरहेका छन्। विशेषगरी पशुपतिनाथ मन्दीर दर्शन गर्न आउने भक्तालुहरुका लागि धर्मशालाका कोठाहरु उपलब्ध गराईन्छ।
२०८९ साउनदेखि २०८० असार मसान्तसम्म एक लाख ८४ हजार ४३ जनालाई आवासको सुविधा दिइएको छ। त्यस्तै धर्मशालाले २०७८ सालदेखि उत्तरतर्फका ५० वटा कोठा मृगौला पीडितका लागि उपलब्ध गराउदै आएको छ।
त्यस्तै २०८० बैशाख १० गतेदेखि २४ गतेसम्म पशुपतिनाथ वनकालीमा मारवाडी सेवा समिति नेपालको संयोजनमा आयोजित विराट अयुतचण्डी महायज्ञमा आएका बाह्रमण तथा पाहुनाहरुको लागि सबै कोठाहरु र निःशुल्क भोजन उपलब्ध गराएको थियो।
त्यस्तै शाकाहारी खाना १२० रुपैयामा भरपेट खान उपलब्ध गराउदै आएको धर्मशालाले हरेक शनिबार बालाजी परोपकार समितिको सहयोगमा करिब पाँच सय जना असायहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिदै आएको छ।
धर्मशालाले सुरक्षा व्यस्था, काजकिरियाको लागि निःशुल्क तथा सहुलियत स्थान उपलब्ध गराउँदै आएको छ। साथै सव राख्नका लागि फ्रिजरको निःशुल्क व्यवस्था रहेको छ। त्यस्तै शुद्ध पानीको समेत व्यवस्था रहेको छ।
पाँच हजार ७ सय ४ जनालाई कृतिम खुट्टा प्रदान
२०५९ सालदेखि निरन्तर रुपमा सञ्चालित रहेको यस सेवाबाट हालसम्म पाँच हजार ७ सय ४ जना अपाङ्गता भएका महानुभावहरु मध्ये पाँच हजार ७ सय ५२ जनाले कृतिम खुट्टा लगाई सक्नु भएको छ। त्यस्तै सात सय ३३ जनाले पुनः मर्मतसमेत गरेका छन्।
२०७९ साल साउनदेखि २०८० असार मशान्तसम्म एक सय १८ जना (पुरुष ८५ र महिला ३३) अपाङ्गता भएकालाई एक सय २१ कृतिम खुट्टा वितरण गरिएको महासचिव घिराईयाको भनाई छ।
दियो खबर । ४ मंसिर २०८०, सोमबार २१:२०