छठको घाट बनाउन सघाउँदै मुस्लिम

विराटनगर । मुस्लिम संघ मोरङका सल्लाहकार मोहमद युनिसलाई कञ्चनबारी चोकमा छठको घाट बनाउन एक सातादेखि भ्याइनभ्याइ छ।

विराटनगर ४ गोकुल टोलका उनी कञ्चनेश्वर सूर्यदेव घाट निर्माणका लागि हिन्दुहरूसँगै घरघरमा चन्दा माग्न हिँडछन्,अनि घाटको व्यवस्थापनमा पनि उत्तिकै खटिन्छन्।

घाट व्यवस्थापन समितिका सदस्य समेत रहेका युनिस अस्ताउँदो र उदाउँदो सूर्यलाई जल भने चढाउँदैनन्। भन्छन्, ‘यो धार्मिक पर्व मुस्लिमले मनाउँदैनन्। तर, हिन्दुले मनाउने पर्वको व्यवस्थापन गर्न के हिन्दु के मुस्लिम। सवाल नै भएन। समाजमा बसेपछि एकले अर्काको सम्मान र एकले अर्कोलाई सहयोगको भावना राख्नुपर्छ।’

विराटनगर ४ कञ्चनबारीमा सुनसरी मोरङ सिँचाइ योजनाको नहरमा सूर्यदेव घाट निर्माण भइरहेको छ। त्यसका लागि युनिससहितको टोलीले गाउँका हरेक घरमा चन्दा संकलन गरेका हुन्। त्यसका लागि करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको घाट व्यवस्थापन समितिका अध्यक्ष क्षेदीलाल शर्माले बताए। उनका अनुसार त्यसका लागि करिब सवा लाख रुपैयाँ चन्दा संकलन भएको छ। बाँकी रकम आ-आफूले व्यहोर्ने तयारी छ।

विराटनगरमा सुनसरी मोरङ सिँचाइ योजनाको नहर, सिंघीय र केशलिया खोलासहितका जलाशयमा हरेक वर्ष छठ पर्व मनाउने गरिन्छ। ती स्थानमा निर्माण हुने घाटको व्यवस्थापनमा मुस्लिम समुदायको सक्रियता रहँदै आएको मुस्लिम संघका केन्द्रीय सदस्य हसन अन्सारीको भनाइ छ। ‘मुस्लिमले छठ मनाउँदैनन्। तर, मनाउने समुदायका लागि सहजीकरण गर्नु सामाजिक दायित्व सबैको हो,’ उनले भने।

छठ पर्वका लागि विराटनगरको पश्चिममा रहेको सुनसरी मोरङ सिँचाइ योजनाको नहरको करिब ७ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ। त्यसमा घाट निर्माण गरेर छठ पर्व मनाउने गरिएको छ।

तपाईको प्रतिक्रिया