काठमाडौँ। आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ।
विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ। युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन्। मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन्। खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।
युएईसँग हेड टु हेड
टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ८ खेल भएका छन् । जसमा दुवै टिमले ४-४ खेल जितेका छन् ।नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी–२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २–१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।
त्यसपछि २०२२ मा भएको चार देशीय टी–२० सिरिज र टी–२० विश्वकप छनोटमा नेपाल युएईसँग पराजित भएको थियो । यस्तै टी-२० विश्वकप छनोटअघि भएको त्रिकोणात्मक शृखंलामा नेपाल र युएईबीच फाइनल सहित तीन खेल भएका थिए । जसमा लिग चरणका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो र फाइनलमा भने युएई विजयी भएको थियो ।
मुलपानी मैदानमा भएको लिग चरणको खेलमा नेपाल ७ विकेट र ५ विकेटले विजयी भएको थियो तर टीयू मैदानमा भएको फाइनलमा भने युएईले नेपाललाई ४ विकेटले हराएर शृखंलाको उपाधि जितेको थियो ।
दियो खबर । १७ कार्तिक २०८०, शुक्रबार ०८:३०