यूएईसँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ। आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिजको उपाधी हात पारेको छ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो।

यसअघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

नेपालको सुरुवात ठीकै थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । मलेसियामा यू–१९ प्रिमियर कप खेलेर फर्किएका आयात अफजल खानले आफ्नो पहिलो ओभरको छैटौं बलमा शेखको विकेट लिए । उनी मात्र ७ रनमा आउट भए।

आक्रमक पारी खेलिरहेका कुशललाई साथ दिएका कुशल मल्ल जम्मा १ रनमा आउट भए। कुशल  भुर्तेल पनि अर्धशतक बनाए लगतै आउट भए। जतिबेला नेपालको स्कोर ६८/३ थियो।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे। दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे। तर, १३औं ओभरमा दुवै आउट भए। रोहित १८ र ऐरी २० रनमा पभेलियन फर्किए।

सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे। यूएईका आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २-२ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया