काठमाडौँ। काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले चार खेल खेलेकोमा सतप्रतिशत जित निकालेको छ ।
हङकङ र यूएईसँग भएका दुई/दुईवटै खेल जितेर नेपाल फाइनल प्रवेश गरिसकेको छ । यी सबै खेल मुलपानी क्रिकेट रंगशालामा भएका हुन् ।
नेपालले यूएईसँगको दोस्रो खेल आज खेलेको हो । आजको खेलमा नेपाल यूएईमाथि ५ विकेटले विजय भयो ।
पहिलो क्रमका ब्याटर सस्तैमा गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्यो र जित हात पार्यो । आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालेको पारीमा छैटौं नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै जित पक्का गरे ।
यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो ।
नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले १५ बलमै ४० रन बनाए।
यूएईका मोहम्मद जवादुल्लाहले २, जहुर खान र अकिफ राजाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक/एक विकेट लिए।
दियो खबर । ६ कार्तिक २०८०, सोमबार १८:३९