पहिलो जीतको खोजीमा रहेका अस्ट्रेलिया र श्रीलंका आज भिड्दै

काठमाडौँ। एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंकाबिच खेल हुँदैछ।

खेल भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना), लखनउमा दिउँसो २ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः३० बजे हुनेछ।

यो खेलअघि नै श्रीलंकाको टोलीलाई ठुलो झट्का लागेको छ। टोलीका कप्तान दासुन शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा शनाका घाइते भएका थिए।

15shanaka

उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ। रिपोर्टका अनुसार शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन्।

यो विश्वकपमा दुवै टोलीको तेस्रो खेल हुनेछ। पाँच पटकको च्याम्पियन अस्ट्रेलिया र श्रीलंकाले आफ्नो सुरुवाती दुवै खेलमा हार बेहोरेका छन्।

कंगारु टोली पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

australia-wc-2023-s-1697368032

हेड-टू-हेड र भर्खरका रेकर्डहरू

अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ। अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ। ४ खेल अनिर्णित रह्यो।

एकदिवसीय विश्वकप प्रतियोगिताको कुरा गर्दा १० खेल खेलिएका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले मात्र एक पटक जितेको छ। एक खेल भने नतिजा आउन सकेन।

अस्ट्रेलिया: टोलीले पछिल्ला ५ खेलमध्ये ४ हारेको छ र एउटा मात्र जितेको छ।

श्रीलंका: यो टोलीको हालत अस्ट्रेलिया जस्तै छ, अर्थात् पछिल्लो ५ खेलमध्ये ४ हारेको र एउटा मात्र जितेको छ।

यस वर्षको विश्वकपमा अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक रन बनाएका छन्। बलरमध्ये जोस हेजलवुडले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले २ खेलमा ४ विकेट लिएका छन्।

यस विश्वकपमा श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक रन बनाएका छन्। उनले दुई खेलमा एक शतक र एक अर्धशतक सहित १९८ रन बनाए। दिलशान मदुशंकाले सर्वाधिक ४ विकेट लिएका छन्।

sitting-capacity

पिच रिपोर्ट

लखनउको एकना स्टेडियमको विकेटमा स्पिनरहरूले मद्दत पाइरहेका छन्। यहाँ अहिलेसम्म ५ ओडिआई खेलिएको छ। पहिले ब्याटिङ गर्ने टोलीले ३ खेल जितेको छ भने पछि ब्याटिङ गर्ने टोलीले २ खेल जितेको छ। पहिलो इनिङ्सको औसत कुल २ सय ८ रन हो। साँझपख यहाँ शीत परेकोले बल समात्न समस्या हुने गरेको छ।

लखनउमा आज पानी पर्ने सम्भावना छैन। यस अवधिमा हावाको गति ९ किलोमिटर प्रतिघण्टा रहनेछ। तापमान २१ देखि ३३ डिग्री सेल्सियस सम्म हुन सक्छ।

तपाईको प्रतिक्रिया